RayNewsDaily
सयपत्री फूल बिक्री भएपछि किसान खुसी   

दमौली (तनहुँ) । तनहुँको म्याग्दे गाउँपालिका–४ छिम्लेश्वाराबाट एकैदिन चार सय ६८ किलो सयपत्री फूल बिक्री भएको छ ।    
    
यहाँका चण्डेश्वरी फलफूल तथा तरकारी उत्पादक कृषक समूहले सोमबार एकैदिन चार सय ६८ किलो सयपत्री फूल बिक्री गरेका हुन् । पोखराको व्यापारीलाई रु तीन सयका दरले फूल बिक्री गरिएको समूहका सचिव महेन्द्रराज रानाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दुई ठाउँमा गरी छ रोपनी क्षेत्रफलमा पहिलो वर्ष सयपत्री फूल लगाएका थियौँ । एक ठाउँबाट एक सय ६८ र अर्को ठाउँबाट तीन सय ६८ किलो फूल बिक्री भएको छ ।”    
    
पहिलो वर्ष फूलखेती गरेका किसान बजार पाएपछि खुसी छन् । अझै पनि फूलको माग आइरहेको तर आफूहरूसँग फूल नरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिलो वर्षमै उत्पादन भएका सबै फूल बिक्री हुँदा खुसी छौँ । बजार पाउँदैन कि भन्ने चिन्ता हट्यो ।” फुटकर रूपमा फूलको माग आए पनि फूल दिन सक्ने अवस्था नरहेको उहाँले बताउनुभयो ।    
    
समूहका अध्यक्ष जितमाया रानाले बजार नपाएर श्रम खेर जाने हो कि भन्ने चिन्ताका बीच फूल लगाउन सुरु गरे पनि बजार पाएपछि आफूहरूमा हौँसला प्राप्त भएको बताउनुभयो । पहिलो वषमै बजारको सुनिश्चितता भएपछि आगामी वर्ष झनै क्षेत्रफल विस्तार गर्ने सोच बनाएको उहाँको भनाइ छ ।    
    
फूल फुलेपछि कहाँ लैजाने भन्ने चिन्ता भए पनि बजारको समस्या नभएपछि अहिले मन पनि खुसीले फुलेको उहाँले बताउनुभयो । उहाँका अनुसार छ रोपनी जग्गा भाडामा लिएर छ हजारभन्दा बढी बेर्ना रोपिएको थियो । यसअघि काक्रा, घिरौला, बोडी, मास, करेला, खुर्सानीखेती गरिरहेका किसानले यस वर्ष भने सयपत्री फूलखेती गरेको उहाँको भनाइ छ । रासस   

प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०८२  ११:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update