RayNewsDaily
जेनजी आन्दोलनमा गएका थुक्तेन तामाङ ११ दिनदेखि बेपत्ता   

दाने बोहरा/सिमकोट, (हुम्ला) ।  हुम्ला घर भइ हाल काठमाण्डूमा बस्दै आएका थुक्तेन पाल्वर तामाङ ११ दिनदेखि बेपत्ता हुनुभएको छ । काठमाण्डूमा भदौ २४ मा भएको जेनजी आन्दोलनमा सहभागी भएका हुम्लाको नाम्खा गाउँँपालिका–३ को खगालगाउँ स्थायी घर भएका हाल काठमाण्डूको तीनचुलीमा बस्दै आउनुभएका थुक्तेन ११ दिनदेखि बेपत्ता हुनुभएको छ ।    
    
गत भदौ २३ गते जेनजी प्रदर्शनमा सहभागी भएर लामा कोठा फिर्ता भएको बुबा टसी छिरिङले बताउनुभयो । होटेलमा काम गर्दै आउनुभएको लामा २४ गते बिहानी सिफ्टको काम सकेर दिउँसो २ः०० बजे कोठामा आएर प्रदर्शनमा जानुभएको थियो । पछिल्लो दिनको जेनजी प्रदर्शनमा गएको दिनदेखि लामा कोठामा फिर्ता नभएको बुबा टसी छिरिङले बताउनुभयो । एघार दिनसम्म काठमाण्डूका विभिन्न ठाउँहरूमा खोजी कार्य गर्दा कतै नभेटिएको बताइएको छ ।    
    
बौद्धमा भएको आन्दोलनमा सहभागी हुन कोठाबाट निस्केका छोरा त्यसपछि भने बेपत्ता भएको बुबाले बताउनुभयो । जेनजी प्रदर्शनमा निस्केर बेपत्ता भएको छोराको खोजी गरिदिन उहाँले आग्रह गर्नुभयो । उहाँका दुई छोरामध्ये बेपत्ता भएको छोरा कान्छो हुन् ।    
    
 हुम्लाको युवा जेनजी प्रदर्शनमा गएर बेपत्ता भएपछि नाम्ख्योम हुम्ला बौद्ध समाजका अध्यक्ष अंगबहादुर लामाले एक सूचना निकालेर खोजीका लागि आग्रह गर्नुभएको छ । समाजका तर्फबाट बुधबार ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङलाई ज्ञापनपत्र बुझाएर खोजी गर्न आग्रह गरिएको अध्यक्ष लामाले बताउनुभयो । राससका अनुसार चौबीस वर्षका लामा नारायनथान गुम्बामा लामा ज्ञान अध्ययन सकाएर हाल तीनचुलीमा कोठा लिएर भतिजोसँग बस्दै आउनुभएको उहाँका बुबाले जानकारी दिनुभयो ।    

प्रकाशित मिति: शनिबार, असोज ४, २०८२  १८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update