
रे समाचार/काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्याल, ऊर्जामन्त्री कुलमान घिसिङले राष्ट्रिय झण्डा ओढाएर सम्मान गर्नुभएको थियो । शहीद परिवारका सदस्य र आफन्तहरूले शवयात्रासहित शव आर्यघाट पुर्याएका थिए । आर्यघाटमा शहीदका शवलाई सुरक्षा निकायले सलामीसहित सम्मान पनि गरेको छ ।
अन्त्येष्टिअघिको शवयात्रामा ऊर्जा मन्त्री कुलमान घिसिङ र गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्याल सहभागी हुनुभएको थियो ।
ऊर्जा मन्त्री कुलमान घिसिङ गोपीकृष्ण हलबाट र गृह तथा कानुन मन्त्री अर्याल चाबहिल चोकबाट जेनजीको शवयात्रामा सहभागी हुनुभएको थियो । ऊर्जामन्त्री घिसिङले राष्ट्रिय झण्डा हातमा लिनुभएको थियो भने कानुन मन्त्री अर्यालले राष्ट्रिय झण्डा ओढ्नुभएको थियो ।
शवयात्रामा शहीद परिवारका सदस्य र आफन्तहरूको ठूलो संख्यामा सहभागिता रहेको थियो । त्रिवि शिक्षण अस्पतालबाट शवहरू चक्रपथ हुँदै पशुपति आर्यघाट लगिएको थियो । शवयात्राका लागि पुगेकाहरूले शहीदका फोटो र राष्ट्रिय झण्डा बोकेका थिए ।
सरकारले जेनजी आन्दोलनमा मृत्यु भएकाहरुलाई शहीद घोषणा गर्ने, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने र राष्ट्रिय शोक स्वरुप असोज १ गते सार्वजनिक बिदा दिने लगायतका निर्णय गरेको थियो ।