RayNewsDaily
एक सयभन्दा बढी बोइङ विमान किन्ने कोरियन एयरको योजना        
दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प वासिङ्टनस्थित ह्वाइट हाउसमा कुराकानी गर्दै । तस्वीर : एपी

सियोल । कोरियन एयरले एक सयभन्दा बढी बोइङ विमान खरिद गर्ने, अतिरिक्त स्पेयर इन्जिन किन्नेदेखि लिएर २० वर्षका लागि इन्जिन मर्मत-सम्भार सेवा प्राप्त गर्ने गरी ५० अर्ब डलरको विशाल सम्झौता घोषणा गरेको छ ।     
     
दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सोमबार वासिङ्टनमा भएको भेटपछिको औपचारिक कार्यक्रममा उक्त सम्झौता सम्पन्न गरिएको हो ।     
     
सम्झौताअनुसार १०३ नेक्स्ट-जेनेरेसन बोइङ विमानका लागि ३६ अर्ब २० करोड डलर, जीई एरोस्पेस र सीएफएम इन्टरनेसनलका १९ स्पेयर इन्जिनका लागि ६९ करोड डलर र जीई एरोस्पेससँग २० वर्षे इन्जिन मर्मत सेवा सम्झौताका लागि १३ अर्ब डलर विनियोजन गरिएको छ ।     
     
कोरियन एयरले विज्ञप्तिमा भनेको छ, “यो सम्झौता अमेरिकी उड्डयन उद्योगसँग हाम्रो साझेदारीलाई अझ बलियो बनाउन गरिएको रणनीतिक निर्णय हो । अमेरिकी बजारमा गरिएको यो लगानीले एयरलाइनको परिचालन क्षमता र विश्वव्यापी प्रतिस्पर्धा बढाउनेछ, साथै दीर्घकालीन व्यावसायिक सम्बन्धलाई सुदृढ गर्दै दिगो विकासलाई प्रोत्साहित गर्नेछ ।”     
     
खरिद अर्डरमा २० बोइङ ७७७-९, २५ बोइङ ७८७-१०, ५० बोइङ ७३७-१० र आठ बोइङ ७७७-८एफ मालवाहक विमान समावेश छन् । यी सबै विमान सन् २०३० को अन्त्यसम्म चरणबद्ध रूपमा डेलिभरी हुने तय गरिएको छ ।     
     
हस्ताक्षर समारोहमा कोरियन एयर र हन्जिन समूहका अध्यक्ष तथा सिइओ वाल्टर चो, बोइङ कमर्सियल एयरप्लेनकी अध्यक्ष तथा सिइओ स्टेफनी पोप र जीई एरोस्पेसका कमर्सियल इन्जिन तथा सेवा विभागका अध्यक्ष तथा सिइओ रसेल स्टोक्स सहभागी हुनुहुन्थ्यो । एपी 

प्रकाशित मिति: मंगलबार, भदौ १०, २०८२  १३:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update