RayNewsDaily
गाजाको मानवीय अवस्था अत्यन्तै गम्भीर  

गाजा । संयुक्त राष्ट्रका मानवीय मामिलाका उपमहासचिव तथा आपतकालीन राहत समन्वयक टम फ्लेचरले गाजामा उत्पन्न मानवीय संकट निकै भयावह र विनाशकारी भएको बताउनुभएको छ ।

टमका अनुसार गाजामा प्रत्येक तीन व्यक्तिमध्ये एकजनाले कैयौं दिनसम्म पर्याप्त खाना पाएकाका छैन् । केही मानिस आफ्ना परिवारलाई खुवाउन खाद्यान्न खोज्दा आक्रमणको शिकार भइरहेका छन् । बालबालिकाहरू कुपोषणका कारण शारीरिक रूपमा कमजोर बन्दै गएका छन् ।

फ्लेचरले इजरायलले राहत वितरणको लागि सात दिनसम्म सहयोग गर्ने, खाद्यान्न, औषधि तथा इन्धनमा भन्सार अवरोध हटाउने र राहत काफिलाहरूका लागि सुरक्षित मार्गहरू सुनिश्चित गर्ने निर्णयको स्वागत गर्नुभएको छ । उहाँले यो निर्णयलाई सकारात्मक प्रगति भनेपनि गाजामा जीवनरक्षा गर्न अझ धेरै सहयोग आवश्यक भएको बताउनुभयो ।

उहाँले मानवीय सहायता शीघ्र, नियमित र सुरक्षित रूपमा पुर्याइनु आवश्यक रहेकोमा जोड दिनुभएको छ । साथै, राहत सामग्री ढुवानीमा ढिलाइ, अवरोध वा आक्रमण हुनु नहुने स्पष्ट रूपमा उल्लेख गर्नुभएको छ ।   टम फ्लेचरले हालसम्म ५९ हजार भन्दा बढी मानिसको मृत्यु भएको र तिनमध्ये झन्डै १८ हजार बालबालिका रहेको जानकारी दिनुभयो ।

“अन्तर्राष्ट्रिय मानवीय कानुनको पूर्ण पालना हुनु जरुरी छ,” उहाँले भन्नुभयो, “बन्दी बनाइएका सबै व्यक्तिहरूलाई अविलम्ब र बिना सर्त मुक्त गर्नुपर्छ । युद्धविरामको कुरा मात्र होइन, हामी स्थायी शान्ति चाहन्छौं ।”  सिन्ह्वा

प्रकाशित मिति: मंगलबार, साउन १३, २०८२  ११:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update