RayNewsDaily
कला, साहित्य, सभ्यताले भरिएका साङहाईका सङग्रहालय

रोशन के.सी. काठमान्डू । कला, साहित्य र सम्पदा मानव समाजका मेरुदण्ड हुन् । इतिहास हुन्, अनि यिनै विषयसँग जोडिएका भोगाईहरु इतिहासका दस्तावेज हुन् । इतिहास मानव सभ्यताको आधार हो । यो आधार बिना मानव सभ्यता अगाडि बढ्न सक्दैन । तर बिडम्बना हाम्रो ध्यान यसलाई जोगाउनमा छैन । यी सम्पदाहरुले हामीलाई कति धेरै समृद्ध बनाइरहेका छन्, यसको बोध हामीलाई छैन । एउटा देशको समृद्धिको मानक त्यहाँ भएका ठूला ठूला सडकहरु, विशाल भवन, अत्याधुनिक प्रविधि, अर्थतन्त्र भएपनि त्यो देशको गौरवमय सु–सम्पन्नता त्यो देशको संस्कार, सभ्यता, संस्कृति, कला, साहित्य र सम्पदाले देखाउँछ । त्यो देशको इतिहास र सम्पदाहरु जति गर्विलो छ, त्यो देश त्यति नै सम्पन्न हुन्छ ।

नेपालको क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्गकिलोमिटर रहेको छ । पुरातत्व विमागका अनुसार यस क्षेत्रफल भित्र नेपालका कला, इतिहास र सम्पदा प्रर्दशन गर्ने ५० वटा भन्दा बढी संग्राहालयहरु छन् । अर्कोतिर नेपालको उत्तरी छिमेकी चीनको साङहाई शहर जम्मा ६ हजार ३ सय ५० वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । तर यसको यो सानो गर्भमा करिब २ सय वटा सङग्रहालय छन् भने १ सय ३ वटा भन्दा बढी प्रर्दशनी कक्षहरु छन्, चीनको इतिहासदेखि साङहाई विकासम्म । उहिले शासनमा रहेका विभिन्न राजवंशको इतिहासदेखि अहिलेको व्यवस्थासम्म । गीतसंगीत, नाटक, चलचित्रदेखि मूर्तिकला, चित्रकला, हस्तकलासम्म । सबैको आ-आफ्नो सङग्राहलय र प्रर्दशनी । गहिरो इतिहास र ज्ञानको झल्को दिने यी सङग्रहालय र प्रर्दशनीहरुले आधुनिकता र विज्ञान प्रविधिमा फड्को मारिरहेको साङहाई आफ्नो इतिहास, कला, साहित्य र सम्पदाप्रति कति गर्व गर्दछ भन्ने प्रष्ट झल्काउँछन्  । 

1-1752643437.jpg
चीनले आफ्नो पुराना कला र साहित्यलाई सभ्यता र सम्पदामा परिणत गरि तिनीहरुलाई आफ्नो पुस्तामा हस्तान्तरण गर्नुका साथै तिनीहरुको सम्बद्र्धन र प्रर्बद्धनमा निकै ठूलो लगानी गरिरहेको छ । विश्वकै पुरानो सभ्यताको उद्गमको रुपमा आफूलाई सावित गर्न खोजिरहेको चीनले आफ्नो सम्पदा संरक्षण, प्रर्वद्धन, पुस्तान्तरण र तिनलाई पर्यटनसँग जोडिरहेको अदभूत कलाले सबै चकित पारेको छ । साङहाईमा रहेका यी सङग्रहालय र प्रर्दशनीमा संसारभरका मानिसहरुको घुँइचो लाग्ने गर्छ । विश्व साङहाई अनि चीनको इतिहास र कला हेर्न पुग्ने गर्दछ अनि चीन यसको माध्यमबाट पर्यटनलाई बढाउँदै आम्दानी गरिरहेको छ । आफ्नो कला र सम्पदामा जुन हिसाबले राज्य नै लागेर चीनले लगानी गरिरहेको छ, सायदै यस्तो अर्को कुनै देशले कमै गरेको होला । त्यसैले त चीन सम्पदा र सभ्यताको जर्गेना, प्रर्वद्धन र पुस्तान्तरणमा निकै अगाडि रहेको छ । चीनको साङहाईमा रहेका यी सयौँ सङग्रहालयका आ-आफ्नै बिशेषता छन् र महत्व पनि  । 

चीन साँस्कृतिक केन्द्र नेपालले दिएको शुअवसरले सन् २०२५ को जुन १५ देखि २१ सम्म ७ दिने साङहाई भ्रमणमा जाने मौका मिल्यो । यही क्रममा साङहाईमा रहेका केही सङ्ग्रहालयहरुको भ्रमण गर्दै चीन र साङहाईको इतिहास जान्ने अवसर पाइयो । ती मध्ये केहीले गहिरो छाप पारे, जसको केही जानकारी दिने कोसिस गरेको छु । 

चाईना आर्ट सङग्रहालय

2-1752643691.jpg
साङहाईको फुतोङमा रहेको यो सङग्रहालय सन् २०१० को साङहाई एक्स्पोमा चीनको प्याभिलियन रुपमा सञ्चालनमा रहेको थियो । यस सङग्रहालयमा १३ वटा उपखण्डहरु रहेका छन् भने १४ वटा कला प्रर्दशनी रहेका छन् । यहाँ एउटा उपखण्डले एउटा प्रान्तलाई प्रतिनिधित्व गर्छ । यहाँ २ वटा उपखण्ड साङहाईका लागि छुट्याइएको छ । जसमा एउटामा ओइल पेन्टिङ र अर्कोमा प्रयोगात्मक चित्रकलाको प्रर्दशनी हुन्छ । यहाँ २ लाख भन्दा बढी कलात्मक वस्तुहरु प्रर्दशनीमा रहेका छन् । प्राप्त जानकारी अनुसार यहाँ दैनिक ८ हजार अवकोलनकर्ता आउने गर्दछन् । 
यस सङ्ग्राहलयमा धेरै किसिमका कलाहरुको प्रर्दशनी रहेका छन् । तर यहाँ सबैको ध्यान एउटा ९ सय बर्ष पुरानो चित्रले तान्छ । यो चित्र Zhang Zeduen ले बनाउनुभएको हो । यो चित्रमा कृत्रिम नदी पाइन (bian) को किनारमा नर्दन सङ राजवंशको राजधानी Bianjing को दिनचर्या देखाइएको छ । यो चित्रमा दुर्गम गाँउ, पहाडदेखि शहरसम्म, नदीको प्रयोग गरि हुने व्यापार, आधुनिक जीवनशैली, गाँउ र शहरमा हुने चहलपहल कोरिएको छ । विशेषत्ः यसमा छिङमिङ चाडको माहोल देखाइएको छ ।

3-1752643859.jpg
तर रोचक के छ भने यो चित्रलाई मल्टिमिडियामा परिणत गरिएको छ । अर्थात् यो चित्रमा कोरिएका सबै बस्तुहरु चल्छन् । यो चित्रलाई आधुनिक प्रविधिको प्रयोग गरि चलायमान बनाइएको छ । नदी बग्छ, त्यसमा भएका डुङ्गाहरु चल्छन्, मानिसहरु बोल्छन्, मानिसहरु आ-आफ्नो दिनचर्या काम गर्ने, खाने, रम्ने गर्छन्, चराहरु उड्छ, कोही बग्गीका पाङग्रा बनाइरहेका हुन्छन्, महल छ त्यहाँ राज परिवारको गतिविधी भइरहेको छ, उँटहरु शहर पस्छन् । चित्रमा देखिएका सबै कुराहरु चल्छन् । 

4-1752644049.jpg
अझै अनौठो कुरा त यो चित्रलाई ४ मिनेटको मल्टिमिडियामा परिणत गरिएको छ । जसमा २ मिनेट दिन हुन्छ र त्यसमा गतिविधीहरु हुन्छन् भने २ मिनेट रात हुन्छ र गतिविधीहरु हुन्छन् । यसलाई मल्टिमिडियामा परिणत गर्न चित्रलाई करिब ३० वटा प्रोजेक्टरको प्रयोग गरिएको छ । पहिले केही मिटर मात्र भएको यो चित्रलाई अहिले ३० गुणाले बढाइएको छ । यसको हालको लम्बाई १ सय २८ मिटर र उचाइ ६.५ मिटर रहेको छ ।   

5-1752644177.jpg

पावर स्टेसन अफ आर्ट
परबाट हेर्दा एउटा चिम्नी ठड्याईएको जस्तो देखिने यो सङग्रहालय साङहाईको ह्वाङफु नदीको किनारमा रहेको छ । साङहाईमा रहेका मध्ये यो सङग्रहालय मात्रै चीनको केन्द्र सरकारको स्वामित्व रहेको छ । बाहिरबाट चिम्नी जस्तो देखिने यो सङग्रहालय पहिले विद्युत् गृह रहेको थियो । पछि यसलाई सङग्रहालय बनाइएको हो । यो बाहिरबाट हेर्दा चिम्नी जस्तो छ भने भित्र पुरानो फ्याक्ट्री जस्तो छ । सन् २०१० मा भएको सांघाई एक्स्पोको यो पनि एउटा प्रर्दशनी स्थल रहेको थियो । यसको निर्माण हङकङको एम प्लस सङग्रहालयसँगको सहकार्यमा भएको हो । 

6-1752644282.jpg
सिन्थाङ दी 
साङहाईमा रहेको निकै लोकप्रिय र सबैले रुचाएको पर्यटकीय स्थान हो, सिन्थाङ दी । यहाँ चट्टक्क मिलेका सिकुमन शैलीका घरहरु रहेका छन् । यी घरहरुको निर्माण सन् १८८० मा भएको हो । जब साङहाई सन् १९३० भन्दा अघि फ्रान्सेली अधिक्रमणमा थियो, त्यतिबेला यी घरहरु शरणार्थीका लागि बनाइएका थिए । सो समय युद्धको अवस्था थियो, मानिसहरु सरकार वा सत्तासँग लडिरहेका थिए । धनीहरु ज्यान जोगाउन चाहान्थे । भागेर आएका धनाढ्यहरुलाई बस्ने स्थलको रुपमा यसलाई प्रयोग गरिन्थ्यो । पछि चीनले आफ्नो अधिकार र भूमि फिर्ता लिएपछि यसलाई जोगाउन थालियो । 

7-1752644419.jpg
सन् १९८० को आर्थिक मन्दी ताका यहाँबाट करिब ३ हजार बासीलाई अन्यत्र सारियो । यसरी उनीहरुलाई सार्दा करिब ६०० मिलियन युआन तिरिएको थियो । त्यसपछि यी घरहरुलाई संरक्षण गरियो । हङकङको एक कम्पनीले जर्मनीबाट बिशेष किसिमको तरल पदार्थ ल्याएर यी घरका ईट्टाहरुमा राखेर यसलाई संरक्षण गर्यो । अहिले यी घरहरु हेर्न आउनेहरुको लर्को लाग्ने गर्दछ । साङहाईका कलाकारहरु आफनो चलचित्र वा कुनै कामको प्रवद्र्धन गर्न पनि यहाँ आउने गर्दछन् । मानिसहरु आफ्नो विवाहको फोटो सुट गर्न पनि यही आउने गर्दछन् । 

8-1752644480.jpg
चिनियाँ कम्युनिष्ट पार्टीको जन्मस्थान, सिन्थाङ दी 
चिनियाँ कम्युनिष्ट पार्टीको जन्म भएको स्थान पनि यही हो । सन् १९२१ मा पहिलो पल्ट चिनियाँ कम्युनिष्ट पार्टीका जन्मदाताहरुले यस स्थानमा पार्टीको पहिलो अधिवेशन गरेका थिए । यो अधिवेशन सन् १९२१ जुलाईमा भएको थियो । हाल यस क्षेत्रमा संग्राहालय बनाएर सो समयमा पार्टी स्थापनाका लागि भएका संङघर्षको प्रर्दशनी गरिएको छ ।

9-1752644598.jpg

10-1752644598.jpg

पार्टीको पहिलो बैठकमा १५ जनाको सहभागिता रहेको थियो । जसमा चिनियाँ कम्युनिष्ट पार्टीका १३ जना र २ जना विदेशीको पनि सहभागिता रहेको थियो । सो समयमा यो क्षेत्र फ्रान्सेली अतिक्रमणमा रहेकाले यो बैठक लुकेर सम्पन्न भएको थियो । तर पछि फ्रान्सेली प्रहरीले यो बैठकको बारेमा जानकारी पाएर धावा बोलेपछि यहाँबाट सबैजना भागेका थिए । यो बैठक एउटा पुरानो डुङगा भाडामा लिएर दक्षिण सागरमा गरिएको थियो । त्यसकारण यो ठाँउलाई चिनियाँ कम्युनिष्ट पार्टीको जन्मस्थल मानिन्छ । नागरिकहरुको यो स्थानप्रति निकै ठूलो आस्था रहेको छ । 

12-1752644727.jpg
यहाँ चीनलाई समृद्ध र शक्तिशाली बनाउन आहुती दिएका चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुको जीवनी, पार्टीको सुरुवात, विकासक्रम र संङर्घषलाई समेटिएको संग्रहालय छ । जहाँ वृद्ध मानिसहरु आफ्नो इतिहासको अतित सम्झन आँउछन्, युवाहरु इतिहास बुझेर भविष्य बनाउन आउँछन् अनि स–साना बालबालिकाहरुलाई अभिभावकहरु आफ्नो इतिहास महसुस गर्न ल्याउँछन् । 

11-1752644832.jpg

13-1752644833.jpg

14-1752644834.jpg

प्रकाशित मिति: बुधबार, असार ३२, २०८२  ११:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update