
पेरिस । यो एक मनमोहक विचार हो जसले लामो समयदेखि वैज्ञानिकहरूलाई चिन्तामा राखेको छः यसलाई पत्ता लगाउने हाम्रा सबै प्रयासहरूलाई बेवास्ता गर्दै हाम्रो सौर्यमण्डलको किनारमा अन्धकारमा एक विशाल र रहस्यमय ग्रह लुकेर बसेको छ ।
केही खगोलशास्त्रीले नेप्च्युनभन्दा परका हिउँले ढाकिएका चट्टानहरूको अनौठो, गुच्छाले त्यहाँ केही ठूलो छ भनेर सङ्केत गरेको बताएका छन् । त्यसलाई उनीहरूले प्लानेट नाइन नाम दिएका छन् ।
अब यो मायावी संसारको खोजी गर्ने अमेरिकामा आधारित तीन जनाको समूह यसको सट्टा सौर्यमण्डलको बाहिरी भागमा नयाँ पुड्को ग्रह जस्तो देखिने कुरामा ठेस खाएको छ ।
यस नयाँ सदस्यको अस्तित्वले प्लानेट नाइन सिद्धान्तलाई चुनौती दिन सक्छ भनी अनुसन्धानकर्ताहरूले गणना गरेका छन् ।
२०१७ ओएफ२०१ नाम दिइएको नयाँ वस्तु लगभग सात सय किलोमिटर (चार सय ३० माइल) चौडा रहेको गत हप्ता अनलाइन प्रकाशित एक प्रिप्रिन्ट अध्ययनमा उल्लेख छ ।
यसले यसलाई प्लुटोभन्दा तीन गुणा सानो बनाउँछ ।
तर त्यो अझै पनि पुड्को ग्रह मान्न पर्याप्त ठूलो रहेको न्युजर्सीको इन्स्टिच्युट फर एडभान्सड स्टडीका प्रमुख अध्ययन लेखक सिहाओ चेङले बताउनुभयो ।
यो वस्तु हाल पृथ्वीबाट नेप्च्युनभन्दा तीन गुणा टाढा छ ।
यसको अत्यन्त लामो कक्षाले पृथ्वी र सूर्यको बीचको दूरीको एक हजार छ सय गुणाभन्दा बढी बाहिर घुम्छ । यसलाई सौर्यमण्डलको वरिपरि बरफिलो चट्टानहरूको घेराभित्र लैजान्छ जसलाई उर्ट क्लाउड भनिन्छ ।
चेङका अनुसार यो यति टाढा जान्छ कि यसले विगतमा हाम्रो सूर्यबाहेक अन्य ताराहरूको छेउबाट गुज्रन सक्थ्यो ।
आफ्नो २५ हजार वर्षको कक्षाको दौरान यो वस्तु पृथ्वीको पर्याप्त नजिक केवल शून्य दशमलव पाँच प्रतिशत समयमा मात्र हुन्छ, जुन लगभग एक शताब्दी हो ।
“यो पहिले नै कमजोर र अधिक धमिलो हुँदै गइरहेको छ”, चेङले भन्नुभयो ।
यस खोजले नेप्च्युनभन्दा परको कुइपर बेल्टमा ‘समान कक्षाहरूमा सयौँ समान चीजहरू छन्’ भन्ने सुझाव दिएको चेङले बताउनुभयो ।
प्लानेट नाइनको खोजीमा कठिन डेटासेट खोज्न आधा वर्षभन्दा बढी समय बिताउने जोखिम लिएपछि चेङले उहाँ केही फेला पारेकोमा ‘भाग्यशाली’ रहेको बताउनुभयो ।
अनुसन्धानकर्ताहरूले आफ्नो आविष्कारमा जेम्स वेब, हबल र एल्मा टेलिस्कोपहरू लक्षित गर्न समयको अनुरोध गरिरहेका छन् ।
तर क्यालिफोर्नियाका २३ वर्षीय सोखिन खगोलविद् स्याम डिनले पहिले नै पुराना डेटासेटहरू मार्फत पुड्को ग्रह उम्मेद्वारलाई ट्र्याक गर्न सक्षम हुनुभएको छ ।
“ओएफ२०१, मेरो विचारमा पछिल्लो दशकमा बाहिरी सौर्यमण्डलमा सबैभन्दा चाखलाग्दो खोजहरू मध्ये एक हो”, डिनले भन्नुभयो ।
कुइपर बेल्टमा फेला परेका हिउँले ढाकिएका चट्टानहरूको एक विशेष दिशामा समूहबद्ध कक्षामा जाने प्रवृत्ति राख्छन् ।
दुई दशकअघि खगोलविद्हरूले यो पृथ्वीभन्दा १० गुणा ठूलो विश्वको गुरुत्वाकर्षणको कारणले भएको थियो भनेर प्रस्ताव गरे, यसलाई प्लानेट नाइन नाम दिए र त्यसबेलादेखि चलिरहेको बहस सुरु भयो ।
यसलाई कहिलेकाहीँ प्लानेट एक्स पनि भनिन्छ । यो नाम एक शताब्दीभन्दा पहिले नेप्च्युनभन्दा बाहिरको काल्पनिक संसारका लागि प्रस्तावित गरिएको थियो ।
सन् १९३० मा खगोलविद्हरूले प्लानेट एक्सको खोजी गर्दा उनीहरूले प्लुटो फेला पारे । यो हाम्रो सौर्यमण्डलको नवौँ ग्रह बन्यो ।
तर प्लुटो धेरै सानो निस्क्यो- यो चन्द्रमाभन्दा सानो छ र २००६ मा पुड्को ग्रहको स्थितिमा घटाइयो ।
अब त्यहाँ चार अन्य आधिकारिक रूपमा मान्यता प्राप्त पुड्का ग्रहहरू छन् र चेङले २०१७ ओएफ२०१ तिनीहरूको श्रेणीमा सामेल हुनसक्ने विश्वास गर्नुभएको छ ।
जब अनुसन्धानकर्ताहरूले यसको कक्षाको मोडेल बनाए, तिनीहरूले यसले समान वस्तुहरूको समूहबद्ध प्रवृत्तिलाई पछ्याउँदैन भन्ने फेला पारे ।
यसले प्लानेट नाइन सिद्धान्तका लागि समस्या निम्त्याउन सक्छ, तर चेङले थप डेटा आवश्यक रहेकोमा जोड दिनुभयो ।
क्यानाडाको युनिभर्सिटी अफ रेजिनाकी सामन्था ललरले एएफपीलाई भन्नुभयो, “यो महान खोज र यस्तै अन्यको अर्थ प्लानेट नाइनका लागि मूल तर्क कमजोर हुँदै गइरहेको छ ।”
यस वर्ष चिलीमा अनलाइन जाने निर्धारित गरिएको भेरा रुबिन वेधशालाले कुनै न कुनै तरिकाले यस रहस्यमा प्रकाश पार्ने अपेक्षा गरिएको छ ।
डिनका अनुसार अहिलेसम्म प्लानेट नाइनको कुनै सङ्केत नभेटिनु निरुत्साहजनक थियो । “तर भेरा रुबिन क्षितिजमा भएकोले मलाई लाग्दैन कि हामीले यसको अस्तित्वका बारेमा धेरै लामो समयसम्म सोच्नुपर्नेछ”, उहाँले भन्नुभयो ।
चेङका लागि उहाँ यो विशाल ग्रह कतै बाहिर छ भन्ने अझै पनि आशा गर्नुहुन्छ ।
“हामी यस्तो युगमा छौँ जब ठूला टेलिस्कोपहरूले ब्रह्माण्डको किनारासम्म देख्न सक्छन्”, उहाँले भन्नुभयो, “तर हाम्रो घरको आँगनमा के छ त्यो अझै पनि धेरै हदसम्म अज्ञात छ ।” एएफपी