पैचिङ । अमेरिका र चीनबीच व्यापार, ताइवान र मध्यपूर्व युद्धजस्ता संवेदनशील विषयमा तनाव चर्किरहेका बेला बेइजिङले वासिङ्टनसँग ‘थप स्थिरता र निश्चितता’ निर्माण गर्न सहकार्य गर्न तयार रहेको जनाएको छ । यही क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै साता चीन भ्रमण गर्ने औपचारिक पुष्टि भएको छ । सन् २०१७ पछि कुनै पनि अमेरिकी राष्ट्रपतिले चीनको भ्रमण गर्न लागेको यो पहिलो अवसर हुनेछ ।
चीनको विदेश मन्त्रालयले ट्रम्पको भ्रमण बुधबारदेखि शुक्रबारसम्म हुने जानकारी दिएको छ । ह्वाइट हाउसले केही साताअघि नै भ्रमणको घोषणा गरिसकेको भए पनि बेइजिङले सोमबार त्यसको औपचारिक पुष्टि गरेको हो । सुरुमा मार्चको अन्त्य वा अप्रिलको प्रारम्भमा तय गरिएको भ्रमण अमेरिका–इजरायल र इरानबीच विकसित युद्धस्थितिका कारण पछि सारिएको थियो ।
भ्रमणअघि दुवै मुलुकबीच कूटनीतिक र आर्थिक गतिविधि तीव्र बनेका छन् । ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच हुने शिखर वार्ताको एक दिनअघि दुवै देशका शीर्ष व्यापार वार्ताकारहरू दक्षिण कोरियाको राजधानी सियोलमा भेट्ने भएका छन् । उक्त भेटवार्तामा व्यापार तथा आर्थिक विषयका बाँकी मतभेद टुङ्ग्याउने प्रयास गरिने अपेक्षा गरिएको छ । यसलाई ट्रम्पको चीन भ्रमणको आधार तयार पार्ने उच्चस्तरीय तयारीका रूपमा हेरिएको छ ।
चीनको विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले नियमित पत्रकार सम्मेलनमा शीर्ष तहको कूटनीतिले चीन–अमेरिका सम्बन्धलाई दिशा दिने महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले समानता, पारस्परिक सम्मान र आपसी हितका आधारमा अमेरिकासँग सहकार्य विस्तार गर्न चीन तयार रहेको उल्लेख गर्दै अस्थिर र आपसमा गहिरो रूपमा जोडिएको विश्वमा थप स्थिरता ल्याउन दुवै देशले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने धारणा राख्नुभयो ।
सन् २०१७ मा ट्रम्पले गरेको अघिल्लो चीन भ्रमण अत्यन्तै प्रतीकात्मक मानिएको थियो । त्यसबेला उहाँले बेइजिङस्थित ‘टेम्पल अफ हेभन’ अवलोकन गर्नुका साथै भव्य राजकीय भोजमा सहभागिता जनाउनुभएको थियो । यसपटकको भ्रमण पनि उच्च राजनीतिक र कूटनीतिक महत्त्वको हुने बताइएको छ । ह्वाइट हाउसले भ्रमणलाई ‘अत्यधिक प्रतीकात्मक महत्त्व’ भएको भन्दै अमेरिकी जनताका लागि ‘उत्तम सम्झौता’ हासिल गर्ने लक्ष्य राखिएको जनाएको छ ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सियोलमा चिनियाँ उपप्रधानमन्त्री हे लिफेङसँग वार्ता गर्ने कार्यक्रम छ । बेसेन्ट र हे दुवै देशका व्यापार तथा आर्थिक मामिलाका मुख्य वार्ताकार मानिनुहुन्छ । उहाँहरूबीच हुने छलफलले ट्रम्प–सी शिखर सम्मेलनमा सम्भावित घोषणाहरूको अन्तिम रूप तय गर्न सक्ने अनुमान गरिएको छ ।
बेसेन्टले सियोल पुग्नुअघि जापानको टोकियोमा जापानी प्रधानमन्त्री साने ताकाइचीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । ताइवानसम्बन्धी ताकाइचीको हालैको टिप्पणीपछि बेइजिङ र टोकियोबीच यस विषयमा कूटनीतिक चासो र संवाद बढेको देखिएको थियो । बेसेन्टले सामाजिक सञ्जालमार्फत अमेरिका फर्स्ट आर्थिक एजेन्डालाई अघि बढाउने उद्देश्यसहित जापान र दक्षिण कोरियाको भ्रमण गर्न लागेको जानकारी दिनुभएको छ ।
यसपटक ट्रम्प–सी भेटमा मध्यपूर्वको युद्ध प्रमुख एजेन्डा बन्ने सङ्केत देखिएको छ । चीन इरानको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो । गत साता इरानका विदेशमन्त्रीले बेइजिङ भ्रमण गर्नुभएको थियो । त्यस क्रममा चिनियाँ विदेशमन्त्री वाङ यीले क्षेत्रीय शान्ति पुनःस्थापनामा चीनले ‘ठूलो भूमिका’ खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
अमेरिकी अधिकारीहरूका अनुसार ट्रम्पले इरान युद्धबारे चीनको भूमिकामा राष्ट्रपति सीसँग स्पष्ट जवाफ खोज्ने अपेक्षा गरिएको छ । सोमबार पत्रकारहरूले अमेरिकी दबाबबारे प्रश्न गर्दा प्रवक्ता गुओले इरानसम्बन्धी चीनको अडान ‘स्थिर’ रहेको दोहोर्याउनुभयो । उहाँले युद्धविराम र शान्ति वार्तालाई अघि बढाउन चीनले सकारात्मक भूमिका निर्वाह गरिरहेको बताउनुभयो ।
यता, अमेरिकाले इरानलाई सहयोग गरेको आरोपमा चीनमाथि थप दबाब बढाएको छ । अमेरिकी विदेश मन्त्रालयले शुक्रबार इरानको सैन्य गतिविधिलाई सहयोग गरेको आरोप लगाउँदै चीनस्थित तीनवटा स्याटेलाइट कम्पनीमाथि प्रतिबन्ध घोषणा गरेको थियो । अमेरिकी अर्थ मन्त्रालयले पनि मुख्य भूमि चीन र हङकङस्थित केही कम्पनीमाथि इरानको हतियार आपूर्ति सञ्जाललाई सहयोग गरेको आरोपमा छुट्टै प्रतिबन्ध लगाएको छ ।
चीनले भने अमेरिकाले लगाएको प्रतिबन्धलाई ‘अवैध एकपक्षीय कदम’ भन्दै कडा विरोध जनाएको छ । विदेश मन्त्रालयले द्वन्द्व पुनः भड्किन नदिन सबै पक्षले संयमता अपनाउनुपर्ने उल्लेख गर्दै युद्धलाई अन्य मुलुकमाथि आरोप लगाउने माध्यमका रूपमा प्रयोग गर्नु उचित नहुने जनाएको छ । रासस/एएफपी
