RayNewsDaily
रुसका लागि लडिरहेका ६ सय जना उत्तर कोरियाली सैनिक मारिएको दाबी        

सियोल । प्योङयाङले मस्कोलाई सहयोग गर्न सेना तैनाथ गरेको आधिकारिक पुष्टि गरेपछि युक्रेनविरुद्ध रुसका लागि लडिरहेका करिब छ सय उत्तर कोरियाली सैनिक मारिएको र हजारौँ घाइते भएको सियोलका एक सांसदले बुधबार बताएका छन् ।     

“अहिलेसम्म उत्तर कोरियाली सैनिकहरूको हताहती अनुमानित चार हजार सात सय रहेको छ, जसमा करिब छ सय जनाको मृत्यु भएको छ”, संसद्को गुप्तचर समितिका सदस्य सांसद ली सेओङ-क्वेनले देशको जासुसी एजेन्सीद्वारा दिइएको ब्रिफिङपछि पत्रकारहरूलाई भन्नुभयो ।     
     
उत्तर कोरियाले सोमबार पहिलो पटक रुसमा सेना तैनाथ गरेको पुष्टि गरेको छ । सरकारी समाचार एजेन्सी केसिएनएले प्योङयाङका सैनिकहरूले मस्कोलाई रूसी सीमावर्ती क्षेत्र कुर्स्कमा युक्रेनी नियन्त्रणमा रहेको क्षेत्र पुनः प्राप्त गर्न मद्दत गरेको रिपोर्ट गरेको छ ।     
     
सियोल र वासिङ्टनले प्योङयाङलाई सहयोगका लागि थप सेना र हतियार पठाएको आरोप लगाए पनि दुवै देशबाट महिनौँको आधिकारिक मौनतापछि मस्कोले उत्तर कोरियाको सहभागितालाई छुट्टै पुष्टि गरेको थियो ।     
     
यस वर्ष करिब दुई हजार सैनिकलाई आणविक हतियार भएको उत्तर कोरियामा फिर्ता लगिएको लीले बताउनुभयो । उनीहरूलाई अहिले प्योङयाङ र देशभरका अन्य स्थानहरूमा एकान्तवासमा राखिएको बताइएको छ ।     
     
“मारिएका सैनिकका शवहरू उत्तरमा फिर्ता लैजानुअघि स्थानीय रूपमा कुर्स्कमा जलाइएको बुझिएको छ”, उहाँले भन्नुभयो ।     
     
“उत्तर कोरियाले दुई चरणमा १८ हजार सेना परिचालन गरेर रुसलाई कुर्स्क पुनः कब्जा गर्न सहयोग गर्यो“, लीले भन्नुभयो । मार्चदेखि यस क्षेत्रमा झडपको सङ्ख्या घटेको छ ।     
     
उहाँका अनुसार उत्तर कोरियाली सेनाभित्र अत्यधिक मदिरा सेवन र चोरीसहित दुर्व्यवहारका खबरहरू आएका छन् ।दक्षिण कोरियाले सैनिक खटाउने कार्यको पटक–पटक आलोचना गरेको छ र युक्रेन विरुद्धको रुसको युद्धमा सहयोग गर्न मिसाइलसहित कन्टेनर–लोड हतियार पठाएकामा उत्तर कोरियाको आलोचना गरेको छ ।     
     
सियोलले दाबी गरे अनुसार बदलामा आणविक–सशस्त्र उत्तर कोरियाले रूसबाट उल्लेखनीय प्राविधिक सहयोग प्राप्त गरेको छ ।     
     
यसबाहेक छ महिनाको लडाइँपछि सियोलको नेसनल इन्टेलिजेन्स सर्भिसले उत्तर कोरियाली सेनाको ‘युद्ध क्षमतामा उल्लेखनीय सुधार भएको’ अनुमान गरेको लीले बताउनुभयो ।     
     
“प्रारम्भिक अनुभवहीनता घटेको छ र उनीहरू ड्रोनसहित नयाँ हतियार प्रणाली प्रयोग गर्नमा बढी दक्ष भएका छन्”, उहाँले भन्नुभयो ।     
     
उत्तर कोरियाले रुसमा थप सैनिकहरू पठाउन सक्छ भन्ने कुरालाई ‘पूर्ण रूपमा अस्वीकार’ गर्न सम्भव नभएको लीले बताउनुभयो ।     
     
उत्तर कोरियाको अभिजात स्टर्म कर्प्सबाट रुस पठाइएको सेनालाई बन्दी बनाउनुको सट्टा आत्महत्या गर्ने आदेश दिइएको सियोलले यसअघि बताएको थियो ।     
     
सन् २०२२ मा रुसले युक्रेनमा आक्रमण गरेपछि मस्को र प्योङयाङले आफ्ना सैन्य सहयोग बढाएका छन् ।     
     
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाको दुर्लभ भ्रमण गर्दा दुई देशले गत वर्ष आपसी रक्षा खण्डसहित व्यापक सैन्य सम्झौतामा हस्ताक्षर गरेका थिए ।     
     
प्योङयाङले गत वर्ष संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धको उल्लङ्घन गर्दै ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो ।     
     
युक्रेनविरुद्ध प्रयोगका लागि रुसलाई निर्यात गर्न आणविक हतियार भएको उत्तर कोरियाले हतियारको परीक्षण गरिरहेको हुन सक्ने विज्ञहरूले चेतावनी दिएका छन् । एएफपी

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  १६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update