RayNewsDaily
भारतीय रेल दुर्घटनामा ८ जनाको मृत्यु

काठमाण्डू । भारतमा आज एक मालबाहक रेलका चालकले सङ्केतलाई गलतरूपमा बुझ्दा ‘एक्सप्रेस रेल’ को पछाडिको भागमा ठोक्एिको र कम्तीमा आठ जनाको मृत्यु भएको प्रहरी र रेलवे अधिकारीले बताएका छन् ।    
    
दार्जिलिङ जिल्लाको फाँसीदेवा इलाकामा कञ्चनजङ्घा एक्सप्रेस रेललाई मालबाहक रेलले ठक्कर दिँदा दुर्घटना भएको हो । यात्रुबाहक गाडीका तीनवटा पटरी रेल र रेलको लिकबाट छुट्टिई जमिनमा ढलेका छन् ।    
    
भारतको पश्चिम बङ्गाल राज्यमा भएको यो घटना भारतको रेल नेटवर्कमा परेको पछिल्लो घटना हो । यहाँबाट हरेक दिन लाखौं यात्रुहरू ओहोरदोहोर गर्छन् ।    
    
भारतीय रेलवे बोर्डका अध्यक्ष जया वर्मा सिन्हाले एक विज्ञप्ति जारी गर्दै करिब ५० जना घाइते भएको र उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको जानकारी दिनुभएको छ ।    
    
सिन्हाले भन्नुभयो, “एउटा मालबाहक रेलले सिग्नललाई बेवास्ता गरेर पछाडिबाट रेललाई ठक्कर दिएको प्रारम्भिक अध्ययनले देखाएको छ ।”    
    
मृत्यु हुनेमा चालक र सहचालक, रेलका गार्ड र पाँच जना यात्रु रहेको उहाँले पुष्टि गर्नुभयो ।    
    
–प्रधानमन्त्री मोदी र मुख्यमन्त्री बनर्जीद्वारा समवेदना व्यक्त–    
    
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफ्ना प्रियजन गुमाएकाप्रति समवेदना व्यक्त गर्नुभएको छ ।    
    
पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बेनर्जीले दुर्घटनालाई ‘दुःखद’ बताउनुभएको छ ।    
    
दुर्घटनाको केही क्षणपछि उहाँले ‘एम्बुलेन्स र डिजास्टर टिम’ घटनास्थलमा पुगेको र ‘युद्धस्तरमा उद्धारको काम’ गर्न आदेश दिएको बताउनुभएको थियो ।    
    
स्थानीय प्रहरी अधिकारी इफ्तिकार–उल–हसनले एएफपीसँग भन्नुभयो, “धेरै घाइतेलाई भग्नावशेषबाट बाहिर निकालिएको छ । अझै चार जना घाइतेको अवस्था गम्भीर रहेकोले मृतकको सङ्ख्या अझै बढ्न सक्छ ।”    
    
दार्जिलिङका जिल्ला प्रहरी प्रमुख प्रवीण प्रकाशले उद्धार कार्य पूरा भएको र अहिले उद्धार टोलीले भग्नावशेष हटाउने काम गरिरहेको बताउनुभयो । एएफपी    

प्रकाशित मिति: सोमबार, असार ३, २०८१  १८:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update