RayNewsDaily
डोटीमा प्याजखेतीप्रति बढ्दो आकर्षण   

डोटी । डोटीमा प्याजखेतीप्रति किसानको आकर्षण बढ्न थालेको छ । जिल्लाका विभिन्न स्थानका किसानले मा प्याजखेती गरिरहेका छन् । शिखर नगरपालिका–३ सालाखर्कस्थित तुलसीगण्यानीमा सोही ठाउँका सकराम महराले २० रोपनी जमिनमा प्याजखेती गर्नुभएको छ ।    
    
वि.सं. २०६१ देखि कृषिकर्म गरिरहनुभएका ६१ वर्षीय महराले गत वर्ष आठ रोपनीमा प्याजखेती गर्नुभएको थियो । कृषि ज्ञान केन्द्र डोटीबाट सिँचाइका लागि पाइप र बीउ पाएपछि यो वर्ष प्याजखेती विस्तार गरेको उहाँले बताउनुभयो ।    
    
बीस रोपनी जमिनमा विभिन्न चरणमा चार किलो प्याजको बीउ रोपिएको महराले बताउनुभयो । “बीउ फरक–फरक समयमा राखेको थिएँ, त्यसरी नै फरक समयमा सबै जमिनमा प्याज रोपिएको हो । प्याज रोप्न ५५ दिन बराबर ज्यालामा स्थानीयलाई काम लगाएको छु, महराले भन्नुभयो ।” एक दिन काम गरेबापत एक जनालाई आठ केजी प्याज दिने सहमति भएको उहाँले बताउनुभयो । उहाँले सिजनमा रु २५ देखि ३५ प्रतिकिलो र बेसिजनमा रु ४५ देखि ८० प्रतिकिलोका दरले प्याज बिक्री गर्दै आउनुभएको छ ।    
    
प्याज उत्पादन गर्नुभन्दा पनि बिक्री गर्न समस्या हुने गरेको महरा बताउनुहुन्छ । उहाँले भन्नुभयो, “सिजनमा भनेको मूल्य पाइँदैन, बेसिजनमा बेच्दा मूल्य पाइन्छ तर प्याज जोगाउन गाह्रो हुन्छ, प्याज भण्डारणका लागि कुनै व्यवस्था नहुँदा धेरैजसो प्याज बिग्रिएर जाने गरेको छ ।”    
    
महराले यस वर्षदेखि प्याजको बीउ पनि उत्पादन गर्न सुरु गर्नुभएको छ । पहिलोपटक एक सय ५० गाना प्याज बीउँका लागि रोपिएका छन् । महराले गरेको प्याजखेती सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाकै नमूना रहेको कृषि ज्ञान केन्द्र डोटीका निमित्त कार्यालय प्रमुख गङ्गादत्त अवस्थीले बताउनुभयो ।    
    
महराले गरेको प्याजखेतीबाट आफू प्रभावित भएपछि उहाँलाई प्रोत्साहनस्वरूप ज्ञान केन्द्रबाट बीउ र सात सय मिटर ३२ एमएमको सिँचाइ पाइप सहयोग गरिएको अवस्थीले बताउनुभयो । महराले प्याज रोपेको जमिनबाट करिब दुई क्विन्टल प्याज उत्पादन हुने अनुमान गरिएको उहाँले बताउनुभएको छ । किसानले फलाएका प्याजको बजारीकरण गर्न व्यापारीसँग समन्वय गरिरहेको पनि अवस्थीले जानकारी दिनुभयो ।    
    
यसैगरी, बोगटान फुड्सिल गाउँपालिका–१ का यम बमले १० रोपनी जमिनमा प्याजखेती गर्नुभएको छ । उहाँले काटैस्थित मौडामा प्याजखेती गरिरहेको बताउनुभयो । उषा बहुउद्देश्यीय कृषि तथा पशुपक्षी फार्म खोलेर कृषि पेशा गरिरहनुभएका बमले तीन वर्षदेखि प्याजखेती गर्न थाल्नुभएको हो । बमले थप ४० रोपनीमा प्याजखेती गर्ने सोच बनाएको बताउनुभयो ।    
    
दिपायल सिलगढी नगरपालिका–२ पन्तोलाका ध्रुव मलासीले पनि प्याजखेती गर्नुभएको छ । उहाँले छ रोपनी जमिनमा प्याज र दुई रोपनीमा लसुन लगाएको राससलाई बताउनुभयो । लसुनप्याज बेचेर गर्जो टार्न सकिने भएकाले यसतर्फ आफू आकर्षित भएको उहाँले सुनाउनुभयो । रासस   

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १४:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update