- भोजपुरको पाँचधारेमा रु ११ करोडको लागतमा आधुनिक कृषि उपज केन्द्र निर्माण हुने भएको छ ।
- केन्द्र निर्माणका लागि टेम्केमैयुङ गाउँपालिकाले बोलपत्र आह्वान गरेको छ ।
- भारत सरकारको ९५ प्रतिशत आर्थिक सहयोगमा निर्माण हुने केन्द्रले भोजपुर र खोटाङका किसानलाई बजारसँग जोड्नेछ ।
भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा करिब रु ११ करोडको लागतमा आधुनिक कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र निर्माण हुने भएको छ ।
भोजपुर र खोटाङका किसानले उत्पादन गरेका कृषि उपजको एकीकृत सङ्कलन, भण्डारण, संरक्षण तथा बजारीकरणलाई व्यवस्थित गर्दै किसानलाई बजारसँग जोड्ने उद्देश्यले केन्द्र निर्माण गर्न लागिएको हो । यसका लागि गाउँपालिकाले बोलपत्र आह्वान गरेको छ ।
भारत सरकारको सहयोगमा निर्माण हुने उक्त केन्द्रको ९५ प्रतिशत रकम भारतीय दूतावासमार्फत उपलब्ध हुने र बाँकी पाँच प्रतिशत तथा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) गाउँपालिकाले व्यहोर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अदित दाहालले जानकारी दिनुभयो ।
उहाँका अनुसार निर्माण प्रक्रिया अघि बढाउन गाउँपालिकाले बोलपत्र आह्वान गरिसकेको छ ।
केन्द्रमा आधुनिक भण्डारण कक्ष, चिस्यान व्यवस्थापन प्रणाली, कृषि उपज सङ्कलनस्थल, वर्गीकरण तथा प्राथमिक प्रशोधनका सुविधा रहनेछन् । विशेषगरी तरकारी, फलफूललगायत स्थानीय उत्पादनलाई सुरक्षित रूपमा भण्डारण गरी आवश्यकताअनुसार बजारसम्म पुर्याउन केन्द्रले सहयोग गर्ने गाउँपालिकाले जनाएको छ ।
उचित बजार तथा भण्डारणको व्यवस्था नहुँदा कतिपय किसानले आफ्नो उत्पादन कम मूल्यमा बिक्री गर्नुपर्ने अवस्था छ । उत्पादित वस्तु बजारसम्म पुर्याउन र लामो समयसम्म सुरक्षित राख्न नसक्दा कृषि उपज खेर जाने समस्या पनि रहेको छ ।
गाउँपालिका अध्यक्ष सरोज बस्नेतले भोजपुर र खोटाङको सीमावर्ती क्षेत्रमा पर्ने पाँचधारेमा दुवै जिल्लाका कृषि उपज एकीकृत रूपमा सङ्कलन तथा भण्डारण गर्ने लक्ष्यसहित केन्द्र निर्माण गर्न लागिएको बताउनुभयो ।
उहाँका अनुसार केन्द्र निर्माणपछि मुन्दुम पदमार्गको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास गरिएको छ । किसानले उत्पादन गरेका वस्तु सङ्कलन, भण्डारण र बिक्री गर्न सहज भएपछि कृषि उत्पादन बढाउन तथा नयाँ खेती प्रणाली अपनाउन प्रोत्साहन मिल्ने उहाँले बताउनुभयो ।
गाउँपालिकाले कृषि क्षेत्रलाई व्यावसायिक बनाउँदै स्थानीयस्तरमै रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गर्ने लक्ष्यसमेत लिएको छ ।
गाउँपालिका उपाध्यक्ष रमादेवी राईका अनुसार केन्द्र निर्माणले कृषि उत्पादनको बजारीकरण सहज बनाउनुका साथै पाँचधारे आसपासका क्षेत्रमा व्यापारिक गतिविधि विस्तार गर्न सहयोग पुग्नेछ ।
गाउँपालिका–९ का वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले केन्द्र निर्माणपछि स्थानीय उत्पादनको सङ्कलनदेखि बिक्री वितरणसम्मको व्यवस्था एउटै संरचनाबाट गर्न सकिने भएकाले टेम्केमैयुङसहित आसपासका क्षेत्रका किसान लाभान्वित हुने बताउनुभयो । रासस
