हावाहुरीले सुन्तला झार्दा किसानको लाखौँको आम्दानी गुम्यो
  • म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका तीन वडामा हावाहुरीले सुन्तलामा ठूलो क्षति पुर्‍यायो ।
  • गत वर्ष रु २५ लाखको सुन्तला बिक्री भएको फगाममा यस वर्ष रु एक लाखको पनि बिक्री गर्न नसकिने अवस्था ।
  • सुन्तलाका दाना झर्नुका साथै घर, विद्यालय, गोठ र पर्यटकका टेन्टमा समेत क्षति ।

म्याग्दी । टिप्ने बेला भएको सुन्तला हावाहुरीले झारेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका किसान चिन्तित भएका छन् । गाउँपालिकाका वडा नं २, ३ र ४ अन्तर्गत पर्ने भुरुङ्ग-तातोपानी, दाना र नारच्याङका सुन्तला बगैँचामा हावाहुरीले ठूलो क्षति पुर्‍याएको हो ।

मङ्गलबार आएको हावाहुरीले चिसापानी, दाना, फगाम, घराप, गाडपार र ठाडास्वाँराका बगैँचामा पाक्न लागेको सुन्तला झारेपछि किसानको वर्षभरको मेहनत खेर गएको छ ।

फगामका कृषक दुर्गादत्त सुवेदीका अनुसार गत वर्ष आफ्नो टोलबाट रु २५ लाखको सुन्तला बिक्री भएको थियो । यस वर्ष हावाहुरीले क्षति पुर्‍याएपछि रु एक लाखको पनि सुन्तला बिक्री गर्न नसकिने अवस्था आएको उहाँले बताउनुभयो ।

“यसपालि दाना राम्रो लागेकाले उत्पादन र आम्दानी बढ्ने अनुमान गर्दै उत्साहित भएका थियौँ,” उहाँले भन्नुभयो, “हावाहुरीले बोटबाट दाना झार्नुका साथै हाँगा चुँडाएको छ । भुइँमा झरेका दाना सबै फुटेका छन् ।”

अन्नपूर्ण गाउँपालिकाका कृषि शाखाका अधिकृत योजना अधिकारीले हावाहुरीले सुन्तला खेतीमा पुर्‍याएको क्षतिको विवरण सङ्कलन भइरहेको बताउनुभयो । गत वर्ष करिब रु चार करोड मूल्य बराबरको सुन्तला बिक्री भएको गाउँपालिकामा यस वर्ष तीनवटा वडामा भएको क्षतिका कारण उत्पादन घट्ने निश्चित भएको छ ।

जल तथा मौसम विज्ञान विभागको पोखरास्थित स्वचालित मौसम मापन केन्द्रका अनुसार उत्तरी म्याग्दी र मुस्ताङ क्षेत्रमा सोमबार रातिदेखि मङ्गलबार दिउँसोसम्म प्रतिसेकेन्ड अधिकतम ४ दशमलव १ मिटरको गतिमा हावा मापन गरिएको थियो ।

हावाहुरीले अन्नपूर्ण गाउँपालिका-३ अन्तर्गत काभ्रे, दाना र फगाममा करिब २० वटा घरको छाना उडाएको वडाध्यक्ष रमेश पुर्जाले बताउनुभयो ।

“छाना उडाएका गोठको सङ्ख्या गनेर साध्य छैन,” उहाँले भन्नुभयो, “पक्की भवन रहेको दानास्थित ज्ञानप्रकाश माध्यमिक विद्यालयको झ्याल र स्वास्थ्य चौकीको भवनको छाना पनि उडाएको छ ।”

भालेबासस्थित कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाको सुरक्षा बेसक्याम्पका संरचना भत्काउनुका साथै स्थानीयवासीका घर र विद्यालयका छाना उडाएको अन्नपूर्ण गाउँपालिका-४ का वडाध्यक्ष लोकबहादुर फगामीले बताउनुभयो ।

हावाहुरीले भालेबासस्थित धवलागिरि आधारभूत विद्यालय र सुरक्षा बेसक्याम्पका संरचनामा क्षति पुर्‍याएको छ । सुकबहादुर रोका, रनबहादुर रोका, देउबहादुर खड्का, रविन्द्र खड्का, तुलाराम बुढा र कुमार खड्काका साथै नारच्याङका महलबहादुर गर्बुजाको घरको छाना उडाएको छ ।

त्यस्तै, अन्नपूर्ण आधार शिविर र भुसकेट मेलामा पर्यटकको बसोबासका लागि राखिएका १२ वटा टेन्टसमेत हावाहुरीले उडाएको छ ।

भुरुङ्ग-तातोपानीका वडाध्यक्ष ओमप्रकाश फगामीले हावाहुरीले रुख ढालेपछि अवरुद्ध भएको सडक र विद्युत् सेवा मर्मत गरी बुधबार साँझदेखि सञ्चालनमा ल्याइएको बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जनप्रतिनिधि, कर्मचारी र प्राविधिकको टोली परिचालन गरी क्षतिको विवरण सङ्कलन भइरहेको बताउनुभयो ।

घरबारविहीन भएकाहरूको बसोबास, पुनर्निर्माण र कृषकलाई राहत उपलब्ध गराउन प्रदेश तथा सङ्घीय सरकारसँग पहल गर्ने उहाँले बताउनुभयो ।

यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीमा सबैभन्दा बढी मानवीय तथा भौतिक क्षति व्यहोरेको अन्नपूर्ण गाउँपालिकालाई हावाहुरीले पुनः थप पीडा दिएको छ ।रासस

प्रकाशित मिति: बिहीबार, मंसिर १०, २०८३  १४:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update