- तीन हजार मिटर उचाइको ढोरपाटन उपत्यका राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो ।
- रु १८ करोड लागतमा ३५ किलोमिटर लामो ११ केभी प्रसारण लाइन निर्माण ।
- विद्युत् पुगेपछि स्थानीय जनजीवन, पर्यटन र आर्थिक गतिविधिमा सहज हुने ।
बागलुङ । जिल्लाको पर्यटकीय क्षेत्र ढोरपाटनमा केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तार गरी सञ्चालनमा ल्याइएको छ ।
ढोरपाटन उपत्यका गएको बिहीबारदेखि केन्द्रीय विद्युत् प्रसारण प्रणालीमा जोडिएको हो । बुर्तिबाङदेखि ढोरपाटनको नवी हुँदै छेन्तुङसम्म विस्तार गरिएको ११ केभी विद्युत् प्रसारण लाइन नियमित सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण शाखाका प्रमुख दिलिप मरासिनीले जानकारी दिनुभयो ।
नेपाल विद्युत् प्राधिकरणको रु १८ करोड लागतमा निर्माण गरिएको उक्त प्रसारण लाइन करिब ३५ किलोमिटर लामो छ । लाइन विस्तारको काम सम्पन्न भए पनि विभिन्न प्राविधिक समस्याका कारण विद्युत् सञ्चालनमा आउन सकेको थिएन । प्रसारण लाइनको आवश्यक मर्मत तथा प्राविधिक समस्या समाधान गरेपछि विद्युत् सेवा सञ्चालनमा आएको हो ।
वितरण केन्द्रले सम्बन्धित निकायसँग समन्वय गरी प्राविधिक समस्या समाधान तथा आवश्यक मर्मत गरेपछि विद्युत् आपूर्ति सुरु भएको हो । ढोरपाटनमा विद्युत् पुगेपछि यहाँको जनजीवन सहज हुने ढोरपाटन नगरपालिका-९ का वडाध्यक्ष खिमबहादुर घर्तीमगरले बताउनुभयो ।
लघुजलविद्युत् र सोलारमा निर्भर ढोरपाटन उपत्यकामा मौसम खराब हुँदा सञ्चार सम्पर्कसमेत विच्छेद हुँदै आएको थियो ।
बुर्तिबाङ सबस्टेसनको ११ केभी बुर्तिबाङ फिडरअन्तर्गत रहेको उक्त प्रसारण लाइन सञ्चालनमा आएसँगै बोबाङ, फल्लेघर, देउराली, नवी हुँदै छेन्तुङसम्मका करिब १३ वटा ट्रान्सफर्मर चार्ज भएका छन् । यससँगै उक्त क्षेत्रका उपभोक्ताले राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् उपभोग गर्न पाउने भएका छन् ।
वितरण केन्द्रका प्रमुख मरासिनीका अनुसार अब उक्त क्षेत्रका उपभोक्ताले विद्युत् जडानका लागि जुनसुकै समयमा पनि बुर्तिबाङस्थित नो लाइट शाखामार्फत आवेदन दिन सक्नेछन् ।
ढोरपाटनमा विद्युत् पुगेपछि अन्धकार रहेको निसेलढोरमा समेत विद्युत् पुर्याउने बाटो खुलेको छ । विद्युत् सञ्चालनमा आएसँगै ढोरपाटन उपत्यकासहित आसपासका क्षेत्रमा लामो समयदेखि देखिँदै आएको न्यून भोल्टेजको समस्या समाधान भएको छ ।
समुद्री सतहबाट तीन हजार मिटर उचाइमा रहेको ढोरपाटन केन्द्रीय विद्युत् प्रसारण प्रणालीको पहुँचमा पुगेपछि स्थानीय बासिन्दाको जनजीवन, पर्यटन, उद्योग तथा आर्थिक गतिविधिमा सहज हुने अपेक्षा गरिएको छ ।
ढोरपाटनमा बर्सेनि पर्यटकको सङ्ख्या बढ्दै गएपछि विद्युत्को मागसमेत बढिरहेको छ । त्यस क्षेत्रमा गत आर्थिक वर्षमा ३७ हजार पर्यटक पुगेका थिए । रासस
