मुग्लिन-मलेखु सडक विस्तार एक वर्ष ढिला, भौतिक प्रगति ४८ प्रतिशत मात्रै
  • सम्झौताको म्याद सकिएको एक वर्ष पुग्दा पनि आधा काम पूरा हुन सकेन ।
  • दुईपटक म्याद थप्दा पनि भौतिक प्रगति ४८ र भुक्तानी ४६ प्रतिशत मात्रै ।
  • ३८.८६ किलोमिटर सडक विस्तारको जिम्मा पाएको निर्माण कम्पनीले अझै डेढ वर्ष समय माग्यो ।

चितवन । पृथ्वी राजमार्गअन्तर्गत नागढुङ्गा-मुग्लिन सडकखण्डको तेस्रो प्याकेज मुग्लिन-मलेखु सडक विस्तारको काम सुस्त भएको छ । सम्झौताको समय सकिएको एक वर्ष पुग्दासमेत आयोजनाको आधा काम पूरा हुन सकेको छैन ।

तीन वर्षअघि २०७९ पुस १५ गते सम्झौता गरी गत पुस १५ गतेसम्म काम सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, दुईपटक म्याद थप गर्दा पनि हालसम्म भुक्तानी प्रगति ४६ प्रतिशत मात्रै पुगेको छ । आयोजनाको तेस्रो प्याकेजका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार भौतिक प्रगति करिब ४८ प्रतिशत छ ।

उहाँका अनुसार पहिलोपटक थप गरिएको १८३ दिनको म्याद सकिएपछि दोस्रोपटक २१० दिन म्याद थप गरिएको छ । थपिएको अवधिमा पनि काम सम्पन्न नहुने भएपछि पुनः म्याद थप्नुपर्ने अवस्था आएको छ ।

करिब ९५ किलोमिटर लामो नागढुङ्गा-मुग्लिन सडकलाई तीन प्याकेजमा विभाजन गरी स्तरोन्नतिको काम अघि बढाइएको थियो । पहिलो प्याकेज नागढुङ्गा-नौबिसे, दोस्रो नौबिसे-मलेखु र तेस्रो मलेखु-मुग्लिन खण्डमा काम भइरहेको छ । तेस्रो प्याकेजअन्तर्गतको सडक ३८ दशमलव ८६ किलोमिटर लामो छ ।

मिश्रका अनुसार हालसम्म १५ किलोमिटर सडक कालोपत्र भइसकेको छ । तीन किलोमिटरमा बेस राखेर कालोपत्रको तयारी गरिएको छ भने अन्य पाँच किलोमिटरमा सबबेस राखिएको छ ।

सो खण्डमा रहेका छवटा पुलमध्ये चारवटाको काम अन्तिम चरणमा पुगेको छ । बारवाङ, मौवा, गौमती र खटौती पुलमा आंशिक काम मात्रै बाँकी छ । ती पुल र सडक जोड्ने स्थानमा कालोपत्र गर्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

अन्य दुई पुलको पिल्लरसम्मको काम सकिएको छ । हुग्दी र चरौदी पुलको बिम तथा त्यसभन्दा माथिको निर्माण कार्य बाँकी छ । कुरिनटार र मुग्लिनको बीचमा केही स्थानमा भित्तो काट्न तथा करिब तीन किलोमिटर नाला निर्माण गर्न बाँकी रहेको मिश्रले बताउनुभयो ।

सडक क्षेत्रमा रहेका घर, रुख र बिजुलीका पोल स्थानान्तरण गर्नुपर्ने तथा नक्साङ्कनमा परिवर्तन हुँदा निर्माणमा ढिलाइ भएको उहाँले जानकारी दिनुभयो । अहिले ती समस्या समाधान भइसकेकाले निर्माण कम्पनीबाट कामले गति लिने अपेक्षा गरिएको छ । यसअघि निर्माण सामग्रीको अभाव र पछिल्लो समय बिटुमिन नपाउँदा पनि काम प्रभावित भएको उहाँको भनाइ छ ।

निर्माण कम्पनीका सहदेव खड्काले समयमा नक्सा उपलब्ध नहुँदा काममा ढिलाइ भएको बताउनुभयो । उहाँका अनुसार नक्सा परिवर्तन भएर ठेक्का सम्झौता भएको नौ महिनापछि मात्रै निर्माण कम्पनीले प्राप्त गरेको थियो । बाढीपहिरोका कारण पनि पटकपटक नक्सा परिवर्तन गर्नुपरेको उहाँले बताउनुभयो ।

त्यस्तै, बाढीपहिरो, सडक क्षेत्रमा रहेका घरटहरा हटाउने, बिजुलीका पोल सार्ने र रुख काट्ने काममा समय लागेकाले सम्झौताको अवधिमा निर्माण सम्पन्न गर्न नसकिएको उहाँको भनाइ छ ।

समयमै नक्सा र निर्माण सामग्री उपलब्ध भए अबको एक वर्ष छ महिनाभित्र काम सम्पन्न गर्न सकिने खड्काले बताउनुभयो । निर्माण सामग्री र अलकत्राको अभावले पनि काम प्रभावित भएको उहाँले जानकारी दिनुभयो ।

कुल चार अर्ब ८० करोड ५९ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न गर्ने गरी शर्मा-जेडआइसिजीले ठेक्का पाएको हो । विश्व बैंकको सहुलियतपूर्ण ऋणमा अघि बढाइएको यो आयोजना राजधानी प्रवेश गर्ने र बाहिरिने सवारीसाधनको उच्च चाप रहेको सडकखण्डमा पर्छ ।

उक्त सडक हुँदै दैनिक करिब १५ हजार सवारीसाधन आवतजावत गर्ने अनुमान छ । सडक स्तरोन्नति सम्पन्न भएपछि राजधानी प्रवेश गर्ने र बाहिरिने यात्रुले अहिले भोग्दै आएको सास्ती कम हुने अपेक्षा गरिएको छ । रासस

प्रकाशित मिति: बिहीबार, मंसिर १०, २०८३  १७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update