चौथो बागमती प्रदेशस्तरीय काठमाण्डू  महानगर उपमेयर कप खुला तेक्वान्दो प्रतियोगिता हुँदै

काठमाण्डू । चौथो बागमती प्रदेशस्तरीय काठमाण्डू  महानगर उपमेयर कप खुला तेक्वान्दो प्रतियोगिता आगामी मंसिर २५ देखि २७ गतेसम्म काठमाण्डूमा आयोजना हुने भएको छ।

न्यु सरस्वती तेक्वान्दो डोजाङको आयोजना तथा काठमाण्डू  महानगरपालिकाको सहयोगमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा प्रतियोगिता सञ्चालन हुन लागेको हो।

प्रतियोगितामा तेक्वान्दोका केरोगी र पुम्से विधामा प्रतिस्पर्धा हुनेछ। केरोगीतर्फ सिनियर अफिसियल, जुनियर अफिसियल, विद्यालयस्तरका खेलाडी तथा टाइनी टाइगर मन्टेश्वरीका बालबालिकालाई लक्षित गरी विभिन्न उमेर समूह र तौल समूहमा प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ।

केरोगी विधामा पुरुष र महिलातर्फ गरी कुल ४७ तौल समूहमा प्रतिस्पर्धा हुनेछ। त्यस्तै, पुम्से विधामा १२ वर्षमुनि, १४ वर्षमुनि र १७ वर्षमुनिका महिला तथा पुरुष खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। आयोजकका अनुसार पुम्सेमा पुरुष तथा महिला गरी विभिन्न उमेर समूहमा कुल २० विधामा खेल सञ्चालन हुनेछ।

बागमती प्रदेशका १३ वटै जिल्लाबाट खेलाडी सहभागी हुने प्रतियोगितामा करिब ६५० खेलाडीको सहभागिता रहने अपेक्षा गरिएको छ। प्रतियोगिता सञ्चालनका लागि ४१ जना रेफ्री, जुरी तथा प्राविधिकसहित आयोजक समिति, स्वयंसेवक र प्रशिक्षकहरूको समेत सहभागिता रहनेछ।

प्रतियोगिताको उद्घाटन समारोह मंसिर २६ गते शनिबार काठमाण्डू महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यतामा हुने आयोजकले जनाएको छ। प्रतियोगिताको समापन मंसिर २७ गते आइतबार अपराह्न ४ बजे गरिनेछ।

यसैबीच, प्रतियोगिताका अवसरमा रसुवा बाढीबाट प्रभावित तीन जिल्लाका तीनवटा तेक्वान्दो डोजाङलाई खेलकुद सामग्री हस्तान्तरण गरिने भएको छ। त्यस्तै, आइल्याण्ड फर किड्स प्रि-स्कुल र आइल्याण्ड स्पोर्ट्स तेक्वान्दो डोजाङको तर्फबाट राहत सामग्रीसमेत हस्तान्तरण गरिने आयोजकले जनाएको छ।

आयोजकका अनुसार प्रतियोगिताले बागमती प्रदेशमा तेक्वान्दो खेलको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा विभिन्न जिल्लाका खेलाडीबीच आपसी सम्बन्ध र खेलभावना विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: शनिबार, मंसिर १२, २०८३  ०९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update