- सर्वसाधारणको पहुँच विस्तार र भावी कार्यदिशासहित प्रतिवेदन माग ।
- ठूला पूर्वाधार तथा उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन सांसदहरूको सुझाव ।
- जलविद्युत् आयोजनामा थप लगानीका लागि सरकारी पहल गर्न कोषको आग्रह ।
काठमाडौँ । प्रतिनिधिसभाको अर्थ समितिले नागरिक लगानी कोषको पहुँच विस्तार गर्ने योजना र भावी कार्यदिशासहितको विस्तृत प्रतिवेदन १० दिनभित्र पेस गर्न निर्देशन दिएको छ । समितिको बिहीबार बसेको बैठकले कोषका कार्यकारी निर्देशक पर्वतबहादुर कार्कीलाई उक्त निर्देशन दिएको सभापति डा. कृष्णहरि बुढाथोकीले जानकारी दिनुभयो ।
“नागरिक लगानी कोष भनिए पनि नागरिकको पहुँच बढ्न सकेन भन्ने कुरा आइरहेको छ”, सभापति बुढाथोकीले भन्नुभयो, “बैठकमा उठेका विषयवस्तु र कार्यसूची समेटेर १० दिनभित्र बृहत् प्रतिवेदन पेस गर्न निर्देशन गर्छु ।”
बैठकमा सांसदहरूले कोषको लगानी क्षेत्र सीमित रहेको भन्दै ठूला पूर्वाधार तथा उत्पादनमूलक परियोजनामा लगानी विस्तार गर्न सुझाव दिनुभएको थियो । उहाँहरूले दीर्घकालीन परियोजनामा कोषको सहभागिता बढाउनुपर्नेमा जोड दिनुभयो ।
कोषले सरकारी संलग्नता रहेका पूर्वाधार आयोजनामा लगानी विस्तारका लागि सहज वातावरण निर्माण गरिदिन सरकारसँग आग्रह गरेको छ । कार्यकारी निर्देशक कार्कीले माथिल्लो तामाकोशी र न्यादीजस्ता जलविद्युत् आयोजनामा थप लगानी गर्न सरकारी पहल आवश्यक रहेको बताउनुभयो । रासस
