RayNewsDaily
मौसम खुलेसँगै धान थन्क्याउन व्यस्त छन् भोजपुरका किसान   

भोजपुर । निरन्तर वर्षापछि मौसममा सुधार आएसँगै भोजपुरका किसानलाई धानबाली भित्र्याउने चटारो परेको छ । वर्षाका कारण रोकिएको धान काट्ने र थन्क्याउने काममा मौसम खुलेसँगै किसान बिहानैदेखि खेतबारीमा व्यस्त हुन थालेका हुन् ।    
    
 धान पाकेर खेतमा पहेँलपुर भएको अवस्थामा परेको बेमौसमी वर्षाले धान भित्र्याउने काम प्रभावित भएको थियो । अहिले किसान खेतमा धान काट्ने, मुठा बाँध्ने, सुकाउने र घरमा भण्डारण गर्ने काममा जुटेका छन् । कतिपय स्थानमा किसानले एकअर्काको खेतमा अर्मपर्म गरेर धान थन्क्याउन लागेको छन् ।    
    
 भोजपुर नगरपालिका–५ का किसान बमबहादुर कार्कीले मौसम खुलेपछि धान भित्र्याउन सहज भएको बताउनुभयो । “केही दिनअघिको वर्षाले धान थन्क्याउने काममा ढिलाइ भयो । अहिले मौसम खुलेपछि राहत मिलेको छ”, उहाँले भन्नुभयो, “अर्मपर्म गरेर भए पनि सबैले आ–आफ्नो खेतको धान थन्क्याउने काम गरिरहेका छौँ । अहिले हाम्रो मुख्य काम नै धान भित्र्याउनुभएको छ ।”    
    
 किसान अन्य काम छाडेर धान भण्डारणको काममा लागेको स्थानीय किसान नवराज फुयाँलले बताउनुभयो । वर्षाका कारण धानबालीमा केही क्षति पुगे पनि बाँकी रहेको उत्पादन जोगाउन किसान लागिपरेका उहाँको भनाइ छ ।    
    
 “हामी किसान धान भण्डारणको काममा लागेका छौँ”, उहाँले भन्नुभयो, “अहिलेको कामको मुख्य प्राथमिकता नै धान हो । सबैले एकसाथ काम थालेकाले गाउँघरमा खेतला पाउन नै मुस्किल छ ।”    
    
 राससका अनुसार धान भोजपुरका किसानको प्रमुख खाद्यबाली हो । जिल्लाका नौवटै स्थानीय तहमा धानखेती हुँदै आएको छ । मौसममा आएको सुधारले धान भित्र्याउन सहज भए पनि वर्षाका कारण धानबाली केही क्षति पुगेपछि भने किसान चिन्तित बनेका छन् ।    
 

प्रकाशित मिति: मंगलबार, कात्तिक १७, २०८३  ०७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update