- चीन, भारतसहित पाँच देशका व्यवसायी सहभागी हुने ।
- २०० भन्दा बढी कक्षमा स्वदेशी तथा विदेशी वस्तु र सेवाको प्रदर्शनी ।
- करिब एक लाखले मेला अवलोकन गर्ने अनुमान ।
काठमाडौँ । नेपालको अन्तरराष्ट्रिय व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आगामी मङ्सिर १७ देखि २१ गतेसम्म राजधानीमा ११औँ संस्करणको ‘नेपाल अन्तरराष्ट्रिय व्यापार मेला’ आयोजना हुने भएको छ ।
नेपाल सरकारको सहयोगमा निजी क्षेत्रले आयोजना गर्ने मेलामा चीन, भारत, पाकिस्तान, बङ्गलादेश र भुटानका व्यवसायी सहभागी हुनेछन् । नेपाल व्यापार एकीकरण रणनीतिमा विशेष रूपमा पहिचान गरिएका अलैँची, चिया, अदुवा, औषधीय तथा सुगन्धित जडीबुटी, हस्तकला र पश्मिनालगायत वस्तुको निर्यात वृद्धि गर्न सहयोग पुर्याउने उद्देश्यले मेला आयोजना गर्न लागिएको हो ।
मेलामा २०० भन्दा बढी कक्षमार्फत स्वदेशी तथा विदेशी वस्तु र सेवाको प्रदर्शनी गरिने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । नेपाल उद्योग वाणिज्य महासङ्घका अनुसार मेलामा सार्क राष्ट्रसहित चीन, कोरिया र जापानलगायत देशका क्रेतालाई आमन्त्रण गरिसकिएको छ । मेलाको मुख्य आकर्षणका रूपमा नेपालमा निर्मित हस्तकलाका उत्पादन, वस्तुगत सङ्घका उत्पादन तथा विद्युतीय सवारीसाधनका लागि छुट्टाछुट्टै पेभिलियन रहनेछन् ।
मेलामा द्विपक्षीय व्यापार प्रवर्द्धन तथा लगानीका विषयमा छलफलसमेत हुनेछ । मेलाको करिब एक लाखले अवलोकन गर्ने अनुमान गरिएको छ । मेलामार्फत नेपालमा अन्तरराष्ट्रिय लगानी तथा प्रविधि आकर्षित गर्नुका साथै नेपाली उत्पादनको अन्तरराष्ट्रिय बजार प्रवर्द्धन गर्न सहयोग पुग्ने महासङ्घको विश्वास छ । यसले समग्र मुलुकको अर्थतन्त्रलाई उकास्नसमेत योगदान पुर्याउने अपेक्षा गरिएको छ । रासस
