RayNewsDaily
फ्रान्समा हिंसा बढ्दा पर्यटन क्षेत्रमा असर पर्ने चिन्ता
फ्रान्सको लियोनस्थित पर्यटन कार्यालयमा प्रदर्शनका क्रममा आगजनी भएपछि क्षतिग्रस्त भवन । तस्बिरः एएफपी
  • हिंसाका दृश्यले फ्रान्सको पर्यटन छवि प्रभावित ।
  • पेरिस, लियोन र मार्सेका होटलमा बुकिङ रद्द ।
  • हिंसा लम्बिए पर्यटन आम्दानीमा गम्भीर असर पर्ने चेतावनी ।

पेरिस । फ्रान्सका विभिन्न सहरमा भएका दङ्गाका दृश्य विश्वभर फैलिँदा देशको महत्वपूर्ण पर्यटन क्षेत्रमा नकारात्मक असर पर्ने चिन्ता बढेको छ । हिंसा दोहोरिए पर्यटकको आगमन र पर्यटन आम्दानीमा थप गिरावट आउन सक्ने पर्यटन व्यवसायीहरूले चेतावनी दिएका छन् ।

फ्रान्सका पर्यटन संस्थाहरूको छाता सङ्गठन ‘एडिएन टुरिजम’की प्रमुख क्रिस्टेल कासाग्नेले निस, पेरिस र लियोनजस्ता प्रमुख सहरमा देखिएको हिंसालाई विनाशकारी बताउनुभएको छ । उहाँका अनुसार पर्यटक होटलमा बसेर रमाइलो गर्न आउँछन्, हिंसाका कारण होटलभित्रै सीमित हुन होइन ।

प्रहरीसँगको झडप, सार्वजनिक भवनमा आगजनी, पसलमा लुटपाट र सडकमा भएका हिंसात्मक गतिविधिका दृश्यले अन्तरराष्ट्रिय सञ्चारमाध्यममा व्यापक स्थान पाएका छन् । यसले सामाजिक सञ्जालमा फ्रान्सको आकर्षक पर्यटन छविलाई समेत प्रभावित गरेको छ । कतिपय पर्यटकले पेरिस सुरक्षित छ कि छैन भन्ने प्रश्न उठाएका छन् भने केहीले यात्रा रद्द गर्ने वा स्थगित गर्ने सोच बनाएका छन् ।

परामर्श तथा अनुसन्धान संस्था ‘प्रोटुरिजम’का प्रमुख डिडियर अरिनोका अनुसार पेरिस, लियोन र मार्सेका होटलमा बुकिङ रद्द हुने क्रम बढ्न थालेको छ । पेरिसको केन्द्रमा भएको एक दिनको दङ्गापछि होटल बुकिङ रद्द हुने दरमा करिब एक प्रतिशतले वृद्धि भएको उहाँले बताउनुभएको छ ।

यद्यपि, सन् २०२६ का लागि अनुमान गरिएको चार करोड २० लाख होटल बसाइको तुलनामा यो तत्काल ठूलो गिरावट होइन । तर, हिंसा बारम्बार दोहोरिएमा पर्यटन क्षेत्रमा गम्भीर प्रभाव पर्न सक्ने उहाँको भनाइ छ ।

फ्रान्सले वार्षिक करिब १० करोड पर्यटकलाई स्वागत गर्दै पर्यटनबाट ७० अर्ब युरोभन्दा बढी आम्दानी गर्छ । विशेषगरी लामो दूरीबाट आउने पर्यटकले बढी खर्च गर्ने भएकाले उनीहरूको सङ्ख्या घट्दा पर्यटन राजस्वमा समेत असर पर्न सक्छ ।

संयुक्त राज्य अमेरिका, चीन र जर्मनीलगायतका देशले आफ्ना नागरिकका लागि यात्रा सल्लाह जारी गरेपछि बुकिङमा थप दबाब परेको छ । ट्राभल एजेन्सी समूह ‘सेलेक्टुर’का कार्यकारी प्रमुख लरेन्ट एबिटबोलका अनुसार हिंसा दुई सातामै नियन्त्रणमा आए ठूलो क्षति नहुन सक्छ । तर, महिनौँसम्म जारी रहे पर्यटन क्षेत्रका लागि विनाशकारी हुन सक्ने उहाँले बताउनुभएको छ ।

होटलसम्बन्धी तथ्याङ्क विश्लेषण गर्ने संस्था ‘एमकेजी कन्सल्टिङ’का अनुसार पेरिसका होटलले आगामी छ साताका लागि सम्भावित बुकिङ गुमाएका छन् ।

अक्टोबर १९ र २० मा गरिएको विश्लेषणअनुसार अक्टोबर २० देखि २९ सम्मको बसाइका लागि होटल बुकिङमा अघिल्लो वर्षको तुलनामा रहेको अग्रता एक प्रतिशत बिन्दुबाट घटेर शून्य दशमलव दुई प्रतिशत बिन्दुमा झरेको थियो । त्यसैगरी, अक्टोबर २० देखि २५ सम्मको बसाइका लागि बुकिङको अग्रता तीन दशमलव पाँच प्रतिशत बिन्दुबाट घटेर एक दशमलव नौ प्रतिशत बिन्दुमा पुगेको थियो ।

संस्थाका अनुसार निकट भविष्यका बसाइ र महँगा होटलमा हिंसाको प्रभाव बढी देखिएको छ । पर्यटन व्यवसायीहरूका अनुसार आगामी हप्तामा हिंसाको अवस्था कस्तो रहन्छ भन्ने कुराले फ्रान्सको पर्यटन क्षेत्रको भविष्य निर्धारण गर्नेछ । एएफपी

प्रकाशित मिति: बुधबार, कात्तिक ४, २०८३  २१:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update