RayNewsDaily
ढुङ्गे-त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा, बाढी प्रभावितको आवतजावत सहज
  • भोटेकोशी बाढीले दुई पक्की पुल बगाएपछि झोलुङ्गे पुल सञ्चालनमा ।
  • तुइन र जिपलाइनको जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हट्दै ।
  • राहत सामग्री ढुवानी र पुनःस्थापनाका काममा सहज हुने ।

त्रिशूली (नुवाकोट) । भोटेकोशी बाढीले नुवाकोटको विदुर नगरपालिका-१ स्थित त्रिशूली नदीमाथिका दुईवटा पक्की पुल बगाएपछि अवरुद्ध बनेको आवतजावत झोलुङ्गे पुल निर्माणसँगै सहज भएको छ । ढुङ्गे र त्रिशूली बजारलाई जोड्ने गरी निर्माण गरिएको पुल पूर्ण रूपमा सम्पन्न हुन बाँकी रहे पनि स्थानीयवासीको कठिनाइलाई ध्यानमा राखेर सञ्चालनमा ल्याइएको हो ।

गत भदौ १० गतेको बाढीले पुल बगाएपछि स्थानीयवासीले नदी वारपार गर्न तुइन तथा जिपलाइनको सहारा लिनुपरेको थियो । विशेषगरी बाढीबाट प्रत्यक्ष प्रभावित त्रिशूली बजारसहित नदीपारिका बस्तीमा आवतजावत गर्न कठिनाइ हुँदै आएको थियो ।

झोलुङ्गे पुल सञ्चालनमा आएपछि स्थानीयवासीलाई आवतजावत गर्न, राहत सामग्री ओसारपसार गर्न तथा पुनःस्थापनाका काम अघि बढाउन सहज भएको छ ।

नुवाकोट निर्माण व्यवसायी सङ्घका अध्यक्ष शैलेन्द्रराज प्याकुरेलका अनुसार पुलको मुख्य वारपार गर्ने संरचना र लट्ठा जडानको काम सम्पन्न भएपछि स्थानीयवासीको आवश्यकतालाई ध्यानमा राखेर सञ्चालनमा ल्याइएको हो । पुलका दुवैतर्फका चार स्थानमा सहायक लट्ठा बाँध्नेलगायत केही काम भने बाँकी छन् ।

“भोटेकोशी बाढीले त्रिशूली नदी र आसपासका खोला तथा नदीमाथिका संरचनामा क्षति पुर्‍याएपछि वारपारका लागि निर्माण गरिएको यो पुल पहिलो हो,” अध्यक्ष प्याकुरेलले भन्नुभयो, “पुलको बाँकी काम क्रमशः सम्पन्न गर्दै जानेछौँ । चाडपर्वको समयमा र बाढी प्रभावित क्षेत्रका बासिन्दाले तुइनबाट आवतजावत गर्दा भोग्नुपरेको कष्टलाई कम गर्न पूर्ण रूपमा निर्माण सम्पन्न नहुँदै सञ्चालनमा ल्याएका हौँ ।”

पुलका केही संरचना निर्माण गर्न बाँकी रहेकाले वारपारका क्रममा पुल हल्लिने समस्या छ । यद्यपि, प्राविधिकको भनाइ उद्धृत गर्दै निर्माण पक्षले पुलबाट एकैपटक ठूलो सङ्ख्यामा यात्रु आवतजावत गर्न सक्ने जनाएको छ ।

विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले बाढीपछि त्रिशूली नदी वारपार गर्न प्रयोग गर्न मिल्ने पक्की संरचना क्षतिग्रस्त हुँदा स्थानीयवासीले जोखिमपूर्ण माध्यमबाट यात्रा गर्नुपरेको बताउनुभयो । तुइन र जिपलाइनबाट सीमित सङ्ख्यामा यात्रु वारपार गराउन सकिने अवस्थामा झोलुङ्गे पुल निर्माण भएपछि आवतजावत सहज भएको उहाँको भनाइ छ ।

पुल निर्माणका लागि तीन करोड १८ लाख रुपैयाँ लागत अनुमान गरिएको थियो । हालसम्म एक करोड ६८ लाख रुपैयाँ खर्च भएको र थप १० लाख रुपैयाँ बराबरको काम गर्न बाँकी रहेको निर्माण पक्षले जनाएको छ ।

पुल निर्माणका लागि नेपाल निर्माण व्यवसायी महासङ्घले एक करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाएको महासङ्घका अध्यक्ष निकोलस पाण्डेले जानकारी दिनुभयो । उक्त रकम निर्माण व्यवसायी कोषमार्फत सुनिश्चित गरिएको र अपुग रकम नुवाकोट निर्माण व्यवसायी सङ्घले व्यहोर्ने उल्लेख छ ।

पुल सञ्चालनमा आएपछि विदुर नगरपालिका-१ को ढुङ्गेबाट बाढीले प्रत्यक्ष प्रभावित बनाएको त्रिशूली बजार हुँदै विदुर नगरपालिका-७, ८, ९ र १२ का बस्तीमा पुग्न सहज भएको छ । यसबाट विदुर नगरपालिकाका अन्य बस्तीका साथै किस्पाङ र म्यागङ गाउँपालिका, रसुवाका वडा नं १, २ र ३ तथा धादिङतर्फ आवतजावत गर्ने यात्रुलाई पनि सुविधा पुगेको छ ।

त्रिशूली नदीपारि रहेको त्रिशूली अस्पताल, नेपाल विद्युत् प्राधिकरणको नुवाकोट वितरण केन्द्र तथा विद्यालयमा आवतजावत गर्न पनि पुलले सहजता थपेको छ । पुलका दुवैतर्फ सडक सञ्जाल जोडिएकाले यात्रुले नदी वारपार गरेपछि सवारीसाधनमार्फत आफ्नो गन्तव्यसम्म पुग्न सक्ने भएका छन् ।

पुलको अभावमा त्रिशूली बजार क्षेत्रमा बाढीले थुपारेको भग्नावशेष हटाउन, पुरिएका संरचनाको खोजतलास गर्न तथा नदीपारि खाद्यान्नलगायत अत्यावश्यक सामग्री पुर्‍याउन कठिनाइ हुँदै आएको थियो । झोलुङ्गे पुल सञ्चालनमा आएसँगै बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनःस्थापनाका गतिविधि थप सहज हुने अपेक्षा गरिएको छ । रासस

प्रकाशित मिति: आइतबार, कात्तिक १, २०८३  ११:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update