सीमा सुरक्षा र अपराध नियन्त्रणमा स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी
  • नेपाल-भारत सीमा क्षेत्रमा हुने अपराध र राजस्व चुहावट नियन्त्रण गर्न छलफल ।
  • लागुऔषध ओसारपसार, मानव बेचबिखन र अवैध हातहतियार कारोबार नियन्त्रणमा जोड ।
  • सीमा सुरक्षा र अपराध नियन्त्रणमा स्थानीय नागरिकको सहकार्य अपरिहार्य रहेको सशस्त्र प्रहरीको भनाइ ।

रौतहट । सशस्त्र प्रहरी बल नेपालले नेपाल-भारत सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि न्यूनीकरण तथा राजस्व चुहावट नियन्त्रण गर्ने उद्देश्यले स्थानीयसँग छलफल र परामर्श गरेको छ । सशस्त्र प्रहरीले जिल्लाको बौधीमाई नगरपालिका-७ स्थित भन्सार नाकामा स्थानीयसँग सीमा क्षेत्रका विद्यमान सुरक्षा चुनौती र तिनको समाधानबारे छलफल गरेको हो ।

त्यस अवसरमा सीमा नाकाबाट हुने लागुऔषध ओसारपसार, अवैध चोरी तथा पैठारी, मानव बेचबिखन, अवैध हातहतियार तथा खरखजाना कारोबार र राजस्व चुहावट नियन्त्रणलगायत विषयमा स्थानीय र जनप्रतिनिधिसँग राय-सुझाव सङ्कलन गरिएको थियो ।

सशस्त्र प्रहरी बल छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरीको आयोजनामा भएको कार्यक्रममा सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टले सीमा सुरक्षा र अपराध नियन्त्रण सुरक्षा निकायको एकल प्रयासबाट मात्र सम्भव नहुने भएकाले स्थानीय नागरिकको सहकार्य अपरिहार्य रहेको बताउनुभयो ।

त्यस अवसरमा बौधीमाई नगरपालिकाका नगरप्रमुख प्रदीपकुमार यादव, उपप्रमुख प्रमिलादेवी जयसवाल, ईशनाथ नगरपालिकाका प्रमुख कौशल्या देवी तथा सशस्त्र प्रहरी उपरीक्षक चेतराज जोशीले सुरक्षा निकाय र स्थानीयबीचको सहकार्यबाट मात्रै राज्यले लाभ लिन सक्ने विषय सबैले मनन गर्न आवश्यक रहेको बताउनुभयो । रासस

प्रकाशित मिति: आइतबार, मंसिर १३, २०८३  ०८:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update