- सन् २०३० सम्म अत्याधुनिक सञ्चार सञ्जाल निर्माण गर्ने चीनको योजना ।
- छैटौँ पुस्ताको मोबाइल नेटवर्क (६जी) विकासलाई तीव्रता दिइने ।
- लो अर्थ अर्बिट भू-उपग्रहमा आधारित इन्टरनेट प्रणाली निर्माण गरिने ।
बेइजिङ । चीनले सन् २०३० सम्म अत्याधुनिक सञ्चार सञ्जाल निर्माण गर्ने लक्ष्यसहित नयाँ कार्ययोजना सार्वजनिक गरेको छ । देशभर व्यापक पहुँच र उच्च कार्यक्षमतासहितको आगामी पुस्ताको सञ्चार सञ्जाल विकास गर्ने उद्देश्यले चिनियाँ सरकारी निकायहरूले बिहीबार संयुक्त रूपमा कार्यान्वयन योजना सार्वजनिक गरेका हुन् ।
योजनाअनुसार चीनले छैटौँ पुस्ताको मोबाइल नेटवर्क (६जी) विकासलाई उपयुक्त समयमा अगाडि बढाउनेछ । साथै, सन् २०३० सम्ममा लो अर्थ अर्बिट (एलईओ) भू-उपग्रहमा आधारित इन्टरनेट प्रणालीको निर्माण मूलतः सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
चीनले औद्योगिक इन्टरनेट र इन्टरनेट अफ भेहिकल्स (सवारीसाधनमा आधारित इन्टरनेट) जस्ता एकीकृत सञ्चार सञ्जालको पनि व्यापक विस्तार गर्ने योजना बनाएको छ । नयाँ योजनाले सञ्चार प्रविधिको स्मार्ट विकासलाई तीव्रता दिनुका साथै नेटवर्कको कार्यक्षमता र पहुँचमा उल्लेख्य सुधार ल्याउने अपेक्षा गरिएको छ ।
त्यसैगरी, सञ्चार तथा सूचना प्रविधिसँग सम्बन्धित औद्योगिक पारिस्थितिक प्रणालीलाई थप बलियो बनाउने लक्ष्य पनि योजनामा समेटिएको छ । ६जी प्रविधि, भू-उपग्रह इन्टरनेट र औद्योगिक सञ्चार सञ्जालको विकासमार्फत चीनले आगामी पुस्ताको डिजिटल पूर्वाधारलाई थप सुदृढ बनाउने रणनीति अघि सारेको छ । सिन्ह्वा
