- बाढीपहिरोले सडक अवरुद्ध हुँदा स्याउ निकासी प्रभावित ।
- १० हजार मेट्रिक टन स्याउ उत्पादन हुने अनुमान ।
- यस वर्ष दुई अर्ब रुपैयाँको स्याउ बिक्री हुने अपेक्षा ।
मुस्ताङ । मुस्ताङमा उत्पादित स्याउमध्ये हालसम्म ३० प्रतिशतमात्र जिल्ला बाहिर निकासी भएको छ । असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र नदी कटानले बेनी-जोमसोम सडक दुई सातासम्म अवरुद्ध हुँदा स्याउ निकासी प्रभावित भएको हो ।
सडक अवरुद्ध भएपछि गत वर्षको यही समयको तुलनामा यस वर्ष स्याउ निकासी निकै कम भएको छ । सडक सञ्चालनमा आएसँगै किसान तथा व्यापारीले स्याउ बजार पठाउन थालेका छन् ।
यस वर्ष स्याउ उत्पादन राम्रो भए पनि सडक अवरुद्ध हुँदा बिक्री तथा व्यवस्थापनमा समस्या परेको कृषि तथा पशु विकास शाखा मुस्ताङका प्रमुख डा. लालमणि अर्यालले बताउनुभयो ।
उहाँका अनुसार अहिलेसम्म ७० प्रतिशत स्याउ बजारमा पठाइसक्नुपर्ने भए पनि ३० प्रतिशतमात्र जिल्ला बाहिर निकासी भएको छ । मुस्ताङमा उत्पादित स्याउमध्ये १० प्रतिशत जिल्लाभित्रै खपत हुने गरेको छ ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम मुस्ताङका प्रमुख भरत गौतमका अनुसार यस वर्ष १० हजार मेट्रिक टन स्याउ उत्पादन हुने अनुमान छ । गत वर्ष सात हजार मेट्रिक टन स्याउ उत्पादन भएको थियो । उत्पादन बढेकाले यस वर्ष करिब दुई अर्ब रुपैयाँको स्याउ बिक्री हुने उहाँको अनुमान छ ।
भारी वर्षाले अवरुद्ध बेनी-जोमसोम सडक मर्मतपछि सञ्चालनमा आए पनि यातायात सहज भइसकेको छैन । बजारमा स्याउ बिक्री गर्ने याम घर्किन लागेकाले किसानले अहिले धमाधम स्याउ टिपेर बजार पठाउन थालेका छन् ।
मुस्ताङमा उत्पादित स्याउ हरितालिका तीजदेखि बडादसैँसम्म बढी खपत हुने गरेको छ । तर, यस वर्ष बेनी-जोमसोम सडक लामो समय अवरुद्ध हुँदा किसान तथा व्यापारीले समयमै स्याउ बजार पुर्याउन सकेनन् ।
सडक सञ्चालनमा आएसँगै मुस्ताङका पाँचवटै स्थानीय तहमा उत्पादित स्याउ बिक्रीका लागि बजार पठाउन थालिएको छ ।
घरपझोङ गाउँपालिका-५, ढुम्बास्थित चिम्ले अचार्ड कृषि फार्मका व्यवस्थापक आइतराम तामाङका अनुसार सडक सञ्चालन भएको दुई दिनमा छ ट्रक स्याउ काठमाडौँ पठाइएको छ । उहाँले अहिलेसम्म ३० प्रतिशतमात्र स्याउ बजार पठाउन सकिएको बताउनुभयो ।
जिल्लास्तरीय बोर्डको निर्णयअनुसार छिटो पाक्ने स्याउ भदौ १५ गते र ढिलो पाक्ने स्याउ भदौ २२ गतेदेखि बगैँचाबाट टिप्न सकिने व्यवस्था गरिएको थियो । रासस
