- छ वर्षमा पनि सडक निर्माणले गति लिन सकेन ।
- तीन प्याकेजमध्ये एउटाको ठेक्का रद्द, दुईको प्रगति सुस्त ।
- बाढीपहिरो र ठेकेदारको लापरवाहीले स्थानीयवासीलाई सास्ती ।
पाँचथर । पाँचथरमा पर्ने पुष्पलाल (मध्यपहाडी) राजमार्गको उद्गम खण्ड कालोपत्र गर्ने काम अझै अनिश्चित बनेको छ । निर्माण कम्पनीको लापरवाही र विभिन्न प्राविधिक समस्याका कारण ठेक्का लागेको छ वर्ष बित्न लाग्दासमेत सडक निर्माणले अपेक्षित गति लिन सकेको छैन ।
नेपाल-भारत (सिक्किम) सीमा चिवाभञ्ज्याङदेखि याङवरक गाउँपालिका-४ दारिम्बासम्मको करिब ५१ किलोमिटर सडक कालोपत्र हुन बाँकी छ । तीनवटा प्याकेजमा विभाजन गरेर निर्माण अघि बढाइए पनि कुनै पनि खण्डको भौतिक प्रगति ५५ प्रतिशतभन्दा बढी हुन सकेको छैन । एउटा प्याकेजको ठेक्का रद्द गरिएको छ ।
पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय फिदिमका प्राविधिक शिवरामप्रसाद देवका अनुसार विसं २०७७ माघ १९ गते तीन चरणमा कालोपत्र गर्ने गरी ठेक्का सम्झौता भएको थियो । तीनवटै प्याकेजमा निर्माण कार्य सुस्त रहेको उहाँले बताउनुभयो ।
चिवाभञ्ज्याङबाट सुरु हुने पहिलो प्याकेजको ठेक्का रोशन-शिवशक्ति जेभीले ५३ करोड १७ लाख रुपैयाँमा लिएको हो । करिब १६ किलोमिटरको यस खण्डमा हालसम्म ३५ प्रतिशत मात्र भौतिक प्रगति भएको छ ।
चार पटक म्याद थपिएको यस प्याकेजको पछिल्लो म्यादअनुसार आगामी जेठभित्र निर्माण सम्पन्न गर्नुपर्नेछ । तर उच्च पहाडी क्षेत्र भएकाले वर्षायाममा अत्यधिक वर्षा हुने र हिउँदमा चिसोका कारण काम गर्न कठिन हुने हुँदा निर्धारित समयभित्र निर्माण सम्पन्न हुने अवस्था नरहेको जनाइएको छ । पछिल्लो समय मुख्य निर्माण कम्पनीले सडक मर्मतसम्भारको काम भने गरिरहेको प्राविधिक देवले बताउनुभयो ।
करिब १७ किलोमिटर लामो दोस्रो प्याकेजको ठेक्का भने गत असार ११ गते तोडिएको छ । सन्तोषी शिवशक्ति जेभीले ४६ करोड ४६ लाख रुपैयाँमा ठेक्का लिएको यस खण्डमा भौतिक प्रगति १६ प्रतिशतमा सीमित भएपछि योजना कार्यालयले सम्झौता रद्द गरेको हो ।
तीन पटक म्याद थपिएको यस प्याकेजको ठेक्का अवधि गत वर्षको पुस मसान्तमा सकिएको थियो । ठेक्का तोड्ने निर्णयविरुद्ध निर्माण कम्पनीले उच्च अदालत विराटनगरको इलाम इजलासमा रिट दायर गरेको थियो । अदालतले अन्तरिम आदेश दिन अस्वीकार गर्दै ठेक्कासम्बन्धी सक्कली कागजात पेस गर्न आदेश दिएको प्राविधिक देवले बताउनुभयो ।
अदालती प्रक्रिया र नयाँ ठेक्का लगाउने काममा समय लाग्ने भएकाले यस खण्डको निर्माण कहिले सुरु हुने भन्ने निश्चित छैन ।
याङवरक-४ दारिम्बाबाट सुरु हुने तेस्रो प्याकेजको अवस्था पनि सन्तोषजनक छैन । करिब १७ किलोमिटर लामो यस खण्डको ठेक्का रोशन-शिवशक्ति जेभीले ४६ करोड ३६ लाख रुपैयाँमा लिएको हो । पाँच पटक म्याद थपिएको यस प्याकेजमा हालसम्म ५५ प्रतिशत भौतिक प्रगति भएको छ ।
गत वैशाखमै ठेक्का सम्झौताको अवधि सकिएको भए पनि सार्वजनिक खरिद नियमावलीको पछिल्लो संशोधनले ५० प्रतिशतभन्दा बढी प्रगति भएका ठेक्का नतोड्ने व्यवस्था गरेपछि निर्माण कम्पनीलाई ताकेता गरेर काम अघि बढाउन लगाइएको कार्यालयले जनाएको छ । यस प्याकेजको म्याद थप गर्ने विषयमा अध्ययन भइरहेको छ ।
सडक कालोपत्रको काम अनिश्चित बनेपछि स्थानीयवासीले पटकपटक स्थानीय प्रशासन, सम्बन्धित निकाय र सरकारी अधिकारीको ध्यानाकर्षण गराउँदै आएका छन् ।
याङवरक गाउँपालिका-१ च्याङथापुका नरबहादुर गुरुङले चार वर्षअघि नै सम्पन्न हुनुपर्ने सडकको कालोपत्र अझै अनिश्चित हुँदा स्थानीयवासीले समस्या भोग्नुपरेको बताउनुभयो ।
“चार वर्षअघि नै सम्पन्न हुनुपर्ने कालोपत्र अझैसम्म अनिश्चित हुँदा यस भेगका बासिन्दाले धेरै समस्या झेलिरहेका छौँ । अझै पनि कालोपत्र हुने हो कि होइन, निश्चित छैन”, उहाँले भन्नुभयो ।
निर्माणमा ढिलाइ हुँदा बर्सेनि आउने बाढीपहिरोले यसअघि भएका काममा समेत क्षति पुर्याउने गरेको स्थानीयवासीको गुनासो छ । याङवरक-१ का तेजेन्द्र राईले सडक निर्माणलाई तीव्रता दिन र ठेकेदारलाई जिम्मेवार बनाउन सरकारी निकायले कडाइ गर्नुपर्ने बताउनुभयो ।
“धमाधम कालोपत्रको काम नभएपछि अलिअलि गरेको काम पनि बाढीपहिरोले क्षतिग्रस्त बनाइदिँदा सडक निर्माण कार्यले गति लिन सकेको छैन”, उहाँले भन्नुभयो ।
याङवरक गाउँपालिका-२ स्थित मेवा खोलाको दोभानेमा आउने बाढीले सडक नियमित अवरुद्ध हुँदा निर्माण कार्यमा थप समस्या हुने गरेको छ । सुरुदेखि नै निर्माण कम्पनीले पर्याप्त स्रोतसाधन र जनशक्ति परिचालन गर्न नसक्दा सडकको भविष्यप्रति स्थानीयवासी चिन्तित बनेका छन् ।
याङवरक-१ का वडाध्यक्ष राजेन्द्र खालिङ राईले निर्माण कम्पनीको लापरवाहीका कारण समयमै सडक कालोपत्र हुन नसक्दा स्थानीय नागरिकले सास्ती खेप्नुपरेको बताउनुभयो ।
योजना कार्यालयका प्राविधिक देवका अनुसार सुरुआती चरणमा पर्याप्त जनशक्ति, यन्त्रउपकरण र स्रोतसाधन परिचालन नहुँदा निर्माणले गति लिन सकेको थिएन । पछिल्ला वर्षमा अत्यधिक वर्षा, बाढीपहिरो लगायतका कारणले पनि कालोपत्रको काम प्रभावित भएको उहाँले बताउनुभयो । रासस
