- बाढीपछि टुटेको रसुवा र नुवाकोटको सडक सम्पर्क पुनःस्थापित ।
- ७३.२ मिटर लामो पुलले ४० टनसम्म भार थेग्ने ।
- बाढी प्रभावित क्षेत्रमा राहत र अत्यावश्यक सामग्री ढुवानी सहज ।
रामहरि न्यौपाने/नुवाकोट । भोटेकोशी बाढीपछि सडक सञ्जालबाट विच्छेद भएको रसुवा जिल्लासँग आजदेखि पुनः यातायात सम्पर्क स्थापित भएको छ । नेपाली सेनाले बेत्रावतीस्थित फलाखु खोलामा निर्माण गरेको बेलिब्रिज सञ्चालनमा आएसँगै रसुवा र नुवाकोटबीच सडक सम्पर्क जोडिएको हो ।
भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले बेत्रावतीस्थित विदुर नगरपालिका-१० र उत्तरगया गाउँपालिका-५ जोड्ने दुईवटा पक्की पुल बगाएको थियो । त्यसपछि रसुवा र नुवाकोटबीचको सडक सम्पर्क टुटेको थियो ।
बेलिब्रिज सञ्चालनमा आएपछि नुवाकोट र रसुवाका आसपासका क्षेत्रका नागरिकलाई आवतजावत गर्न सहज हुने भएको छ । साथै, बाढी प्रभावित क्षेत्रमा राहत तथा अत्यावश्यक सामग्री ढुवानी गर्न पनि सहज हुने नेपाली सेनाका उपरथी अनुपजङ्ग थापाले बताउनुभयो ।
उहाँका अनुसार नेपाली सेनाले फलाखु खोलामा पाँच दिनमै बेलिब्रिज निर्माण गरेको हो । बाढीले सडकको पहुँच मार्गसमेत बगाएकाले बेत्रावती पुग्न कठिन भएको थियो ।
“बाढीले सडकको पहुँच मार्ग बगाएसँगै बेत्रावतीसम्म पुग्नका लागि पहुँच मार्गसमेत थिएन”, उपरथी थापाले भन्नुभयो, “सडक विभागसँगको समन्वयमा करिब ३०० मिटर दूरीको आगिङ्टार-बेत्रावती खण्डमा कठिन चट्टान हटाएर पहुँच मार्ग विस्तार गरियो । त्यसपछि बेत्रावतीसम्म सडक सञ्जाल निर्माण गरी फलाखु खोलामा बेलिब्रिज जडान गरेर रसुवालाई अन्य जिल्लासँग जोडिएको हो ।”
पुल सञ्चालनमा आएपछि उपरथी थापाले निर्माणसम्बन्धी प्राविधिक जानकारीसहितको प्रतिवेदन गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी सडक योजनाका कार्यालय प्रमुख कृष्णनाथ ओझालाई हस्तान्तरण गर्नुभयो ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार सञ्चालनमा आएको बेलिब्रिज ४० टन भारवहन क्षमताको छ । पुल ७३ दशमलव २ मिटर लामो र ५ दशमलव ५ मिटर चौडा छ ।
सडक सञ्जाल निर्माण भएपछि नुवाकोटको विदुरबाट सिधैँ बेत्रावती पुग्न सकिने भएको छ । बेत्रावतीको पुल तरेर पासाङल्हामु सडकमार्ग हुँदै रसुवाको धुञ्चे र स्याफ्रुबेँसीसम्म सवारीसाधनमा पुग्न सकिने भएको छ । यसले रसुवाको बाढी प्रभावित क्षेत्रमा खाद्यान्नलगायत अत्यावश्यक सामग्री पुर्याउन सहज बनाएको छ ।
गल्छी-रसुवागढी सडकअन्तर्गत स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको सडक सञ्चालनमा पनि बेत्रावतीमा निर्माण भएको बेलिब्रिजले सहयोग पुर्याउने भएको छ । नेपाली सेनाले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका साथै राहत र अत्यावश्यक सामग्री उपलब्ध गराउँदै आएको छ ।
यसअघि भोटेकोशी बाढीले क्षति पुर्याएको नुवाकोटको देवीघाटस्थित तादी खोलामा पनि नेपाली सेनाले बेलिब्रिज जडान गरेको थियो । त्यसबाट नुवाकोट र धादिङबीच यातायात सम्पर्क पुनःस्थापित भएको थियो । बाढीले क्षति पुर्याएका अन्य स्थानका पुल र सडक सञ्जाल सञ्चालनमा ल्याउन नेपाली सेनाले आवश्यक सहजीकरण गरिरहेको जनाएको छ । रासस
