- नुवाकोट-रसुवा जोड्ने फलाखु खोलामा पुल जडान सुरु ।
- नेपाली सेनाको ५५ जनाको टोलीले बुधबारदेखि काम थाल्ने ।
- दसैँको फूलपातीसम्म पुल सञ्चालनमा ल्याउने लक्ष्य ।
त्रिशूली (नुवाकोट) । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले क्षति पुर्याएपछि नुवाकोट र रसुवा जोड्ने वेत्रावतीस्थित फलाखु खोलामा बेलीब्रिज जडानको तयारी पूरा भएको छ । पुलका लागि आवश्यक सामग्री ल्याउने क्रम जारी रहेकाले बुधबारदेखि जडानको काम सुरु गरी दसैँअघि नै सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।
नेपाली सेनाका सेनानी चिरञ्जीवी चौलागाईंका अनुसार पुल निर्माणका लागि आवश्यक सामग्री धादिङको बैरेनी र बारामा मौज्दात राखिएको स्थानबाट वेत्रावती ल्याउने काम भइरहेको छ । सबै सामग्री आजसम्म वेत्रावती आइपुग्ने र बुधबारदेखि नेपाली सेनाको ५५ जनाको टोलीले पुल जडान सुरु गर्ने उहाँले जानकारी दिनुभयो ।
पुल जडान गर्न सामान्यतया तीन दिन लाग्ने भए पनि पुरानो ‘जिप’ (पुलको संरचना) होचो भएकाले त्यसमा थप दुई मिटर उचाइ बढाइएको छ । थपिएको संरचना सुक्न केही समय लाग्ने भएकाले दसैँको फूलपातीसम्म पुल सञ्चालनमा ल्याउने लक्ष्य राखिएको सेनानी चौलागाईंले बताउनुभयो ।
यसअघि वेत्रावतीमा रहेको पुलको ‘जिप’ भोटेकोशीको बाढीले पुरेको थियो । सोही स्थानमा नयाँ एक्रोब्रिज जडान गर्न पुरानो संरचनामा थप दुई मिटर उचाइ बढाइएको हो । निर्माण गर्न लागिएको एक्रोब्रिज ७४ मिटर लामो र ५.५ मिटर चौडा हुनेछ । पुलको भारवहन क्षमता ६० टन रहनेछ ।
वेत्रावतीसम्म सडक पहुँच पुगेपछि पुल निर्माणका लागि आवश्यक सामग्री ढुवानी गर्न तथा निर्माण कार्य अघि बढाउन सहज भएको छ । गल्छी-रसुवागढी सडक योजनाको कार्यालयले सडक पहुँच खुलाएपछि निर्माण कार्यले गति लिएको हो ।
सडक पहुँच पुग्नुअघि नै नेपाली सेनाले वैकल्पिक मार्गबाट उक्त स्थानमा पुगेर पुल निर्माणका लागि आवश्यक स्थलगत अध्ययन (रेक्की) तथा ‘जिप’को उचाइ थप गर्ने काम सम्पन्न गरेको थियो ।
भोटेकोशी बाढीबाट क्षतिग्रस्त आगिटार-वेत्रावती सडकखण्ड यही शनिबारदेखि सञ्चालनमा आएको छ । दसैँअघि वेत्रावतीमा पुल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन सके नुवाकोटबाट रसुवाको धुञ्चेसम्म सडकमार्फत आवतजावत सहज हुने अपेक्षा गरिएको छ ।
पुल सञ्चालनमा आएपछि बाढीका कारण अवरुद्ध नुवाकोट-रसुवा सडक सम्पर्क पुनःस्थापित हुने र रसुवाको दैनिक जनजीवनमा सहजता आउने अपेक्षा गरिएको छ । रासस
