RayNewsDaily
विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम   

चितवन । अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल लेयर्स कुखुरापालक सङ्घले यस वर्षको विश्व अण्डा दिवस सप्ताहव्यापी रुपमा मनाइरहेको छ । यस वर्षको नारा ‘प्रोटिन जसले शक्ति दिन्छ र सुरक्षा गर्छ’ रहेको छ ।     
    
 सङ्घका केन्द्रीय अध्यक्ष विनोद पोखरेलका अनुसार हरेक वर्ष अक्टोबर महिनाको दोस्रो शुक्रबार मनाइने विश्व अण्डा दिवस यस वर्ष असोज २३ गते अर्थात् अक्टोबर ९ मा मनाइँदै छ । सन् १९९६ मा अस्ट्रियाको भियनाबाट सुरु भएको विश्व अण्डा दिवसले यस वर्ष ३० वर्ष पूरा गर्दैछ ।    
    
 दिवसका अवसरमा देशभरका विभिन्न विद्यालयमा अण्डाको पोषण, स्वास्थ्यमा यसको भूमिका तथा सन्तुलित आहारमा यसको महत्वबारे विद्यार्थी र अभिभावकलाई जानकारी गराउने कार्यक्रम सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो । गत साताबाट भेटेरिनरी चिकित्सक र स्वास्थ्यकर्मीहरुले अण्डाको महत्वका बारेमा विद्यार्थी र शिक्षकहरुलाई जानकारी गराउने काम भइरहेको छ ।    
    
 सङ्घको मुख्य आयोजनामा अमेरिकी सोयाबिन एक्सपोर्ट काउन्सिल (युएसएसइसी) को सहयोग तथा सरकारी र निजी क्षेत्रको सहकार्यमा विशेष कार्यक्रम गरिँदैछ । असोज २३ गते बिहान ७ः०० बजे उद्योग सङ्घ चितवनको परिसरबाट ‘एग वाक’ सुरु भई नारायणगढको सहिद चोकमा पुगेर समापन हुने छ । एग वाकमार्फत अण्डाको पोषण, स्वास्थ्यमा यसको सकारात्मक प्रभाव र दैनिक आहारमा यसको महत्वबारे जनचेतना फैलाइने छ ।    
    
 सोही दिन सरोकारवालाको सहभागितामा प्यानल डिस्कसन पनि आयोजना गरिने छ । कार्यक्रममा अण्डा उत्पादन, पोषण, स्वास्थ्य, उपभोग, बजार तथा नेपाली समाजमा अण्डाको भूमिकाबारे छलफल हुने छ ।    
    
 फिजिसियन डा भोजराज अधिकारीका अनुसार एउटा अण्डामा करिब ६ ग्राम उच्च गुणस्तरको प्रोटिनसँगै भिटामिन ए, बी, बी १२, कोलिन, लिसिफिन जस्ता शरीरको सबै कुरालाई आवश्यक पर्ने तत्व पाइन्छ ।    
    
 यसैगरी, भिटामिन डी, ई, फोलेट, फस्फोरस, सेलेनियम र जिङ्कजस्ता पोषक तत्व पाइन्छन् । अण्डामा पाइने प्रोटिनले शरीरका तन्तु तथा मांसपेशी निर्माण र मर्मतमा सहयोग गर्नाका साथै बालबालिकाको वृद्धि–विकासमा महत्वपूर्ण भूमिका खेल्ने उहाँ बताउनुहुन्छ ।    
    
 अण्डामा पाइने कोलिनले मस्तिष्क तथा स्नायु प्रणालीको सामान्य कार्यमा र पहेँलो भागमा पाइने ल्युटिन तथा जेक्स्यान्थिनले आँखाको स्वास्थ्यमा योगदान पु¥याउने उहाँको भनाइ छ । एक जना व्यक्तिलाई एउटा अण्डाको पहेँलो भाग खाँदा उसको शरीरलाई चाहिने कोलस्टोरको एउटा भाग प्राप्त हुने भएकाले खान आवश्यक हुने उहाँले जानकारी दिनुभयो ।    
    
 यसअघि पहेँलो भाग खान हुन्न भन्ने विज्ञहरुको भनाइ रहँदै आएको थियो । अण्डालाई सन्तुलित तथा विविधतायुक्त आहारको महत्वपूर्ण हिस्साका रूपमा लिने गरिएको छ ।    
    
 नेपालका कुखुरापालक किसानहरु विस्थापित हुने अवस्थामा पुगेपछि चार वर्षअघि स्थापना भएको नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको बजारीकरणमा काम गरेसँगै अहिले नेपालमा नयाँ किसान पनि कुखुरापालन क्षेत्रमा आएका छन् । यो क्षेत्र व्यवसायीकरण हुने क्रममा रहेको छ ।  राससका अनुसार  लामो समयदेखि लागत मूल्य नपाएर किसान विस्थापित भएका हुन् । सङ्घकै पहलमा पछिल्ला दिनहरुमा किसानले लागत मूल्य पाउन थालेका छन् । उत्पादन बढाएरसँगै खपत बढाउने उद्देश्यले यस्ता कार्यक्रमको नेतृत्व सङ्घले लिएर गर्दै आएको अध्यक्ष पोखरेलले बताउनुभयो ।    

 

प्रकाशित मिति: सोमबार, असोज १९, २०८३  ०७:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update