RayNewsDaily
काभ्रेको कफी खेतीमा व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना
  • काभ्रे १२१ मेट्रिक टन ग्रीन बिन उत्पादनसहित अग्रस्थानमा ।
  • देशभर ५ हजार ५०१ हेक्टरमा कफी खेती, उत्पादन ६४२ मेट्रिक टन पुग्यो ।
  • निर्यातसँगै स्थानीय बजार बढ्दा किसानको आम्दानी र रोजगारीको सम्भावना विस्तार ।

सनम सुवाल/ बनेपा (काभ्रे) । मुलुकको मध्यपहाडी क्षेत्रका पाखापखेरा कफी खेतीका लागि उपयुक्त मानिन्छन् । विशेषगरी अरेबिका जातको कफी उत्पादनका लागि अनुकूल हावापानी र माटो भएका पहाडी जिल्लामा व्यावसायिक खेती विस्तार हुँदै गएको छ । कफी खेतीले ग्रामीण अर्थतन्त्र चलायमान बनाउनुका साथै किसानको आम्दानी, रोजगारी र निर्यातमार्फत विदेशी मुद्रा आर्जनको सम्भावना बढाएको छ ।

कफी खेतीको विस्तार र उत्पादनका हिसाबले काभ्रेपलाञ्चोक मुलुककै अग्रणी जिल्लाका रूपमा स्थापित भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार नेपालमा पाँच हजार ५०१.०५ हेक्टर क्षेत्रफलमा कफी खेती हुँदै आएको छ भने प्रशोधनपछिको ग्रीन बिन कफी उत्पादन ६४१.९० मेट्रिक टन पुगेको छ । देशका ४३ भन्दा बढी पहाडी जिल्लामा कफी खेती विस्तार भएको छ ।

काभ्रेपलाञ्चोकमा ४९७ हेक्टर क्षेत्रफलमा कफी खेती हुँदै आएको छ भने ग्रीन बिन कफी उत्पादन १२१ मेट्रिक टन पुगेको छ । क्षेत्रफल र उत्पादनका आधारमा काभ्रे देशकै अग्रणी जिल्ला हो ।

महाभारत गाउँपालिकाका सबै वडामा कफी खेती विस्तार भएको छ । गाउँपालिकाका अनुसार यहाँ वार्षिक २१९.८३ मेट्रिक टन कफी चेरी उत्पादन हुन्छ । कफीलाई स्थानीय अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा विकास गर्न गाउँपालिकाले किसानलाई विभिन्न प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिरहेको छ ।

गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाका अनुसार आर्थिक वर्ष २०७७/७८ देखि हालसम्म पाँच लाख ६६ हजार ५०० भन्दा बढी सुधारिएको कफीका बिरुवा किसानलाई वितरण गरिएको छ । गाउँपालिकाले ‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ बीसको नोट’ अभियान सञ्चालन गर्दै सहकारीमार्फत जीवित कफीका बोट गनेर प्रतिबोट रु २० का दरले किसानलाई प्रोत्साहन रकम उपलब्ध गराउँदै आएको छ ।

महाभारतका किसान शङ्खलाल थोकरले १९ रोपनीमा कफी खेती गर्दै वार्षिक दुई हजार किलोग्रामसम्म उत्पादन गर्दै आउनुभएको छ । बजार सुनिश्चित हुन थालेपछि कफीबाट राम्रो आम्दानी गर्न सकिने उहाँको अनुभव छ । अर्का किसान कृष्णबहादुर मोक्तानले वार्षिक ५०० किलोग्राम कफी उत्पादन गर्दै आउनुभएको छ । उहाँले उत्पादनसँगै प्रशोधन, बजार र मूल्यको सुनिश्चितता बलियो बनाउनुपर्ने बताउनुहुन्छ ।

काभ्रेकै खानीखोला गाउँपालिकाले पनि कफीलाई किसानको आयआर्जनसँग जोडेको छ । ‘जसको उत्पादन उसैलाई अनुदान’ नीति अवलम्बन गरेको गाउँपालिकाले रु १० लाख बराबरका कफीका बिरुवा वितरण गर्नुका साथै आठ किसान समूहलाई आठवटा पल्भर मेसिन उपलब्ध गराएको छ । पछिल्लो समय यहाँ ८१ मेट्रिक टन कफी चेरी सङ्कलन भएको र किसानलाई प्रतिकिलो रु ३५ उत्पादन प्रोत्साहन रकम दिइएको कृषि शाखाले जनाएको छ ।

कृषि शाखा प्रमुख विकास तामाङका अनुसार उत्पादनमा आधारित अनुदानले किसानलाई कफी खेतीमा थप आकर्षित गरेको छ । गाउँपालिका अध्यक्ष इन्द्रबहादुर तामाङले कफीलाई स्थानीय उत्पादनमा सीमित नराखी दीर्घकालीन आयस्रोतका रूपमा विकास गर्ने नीति लिइएको बताउनुभएको छ ।

कफी उत्पादक किसानका लागि उत्पादनसँगै प्रशोधन र बजारीकरण पनि महत्वपूर्ण रहेको केन्द्रीय कफी उत्पादक सहकारी सङ्घका केन्द्रीय सदस्य तुलसीराम धिताल बताउनुहुन्छ । किसानलाई उचित मूल्य, नियमित बजार र आवश्यक प्रविधि उपलब्ध गराउन अझै काम गर्नुपर्ने उहाँको भनाइ छ । उत्पादन क्षेत्रमै प्रशोधन केन्द्र स्थापना, सङ्कलन केन्द्र विस्तार, पल्भर तथा प्रशोधन मेसिनको पहुँच, गुणस्तर कायम र जैविक प्रमाणीकरणलाई प्राथमिकता दिनुपर्ने उहाँ बताउनुहुन्छ ।

नेपालमा कफी खेतीको क्षेत्रफल र उत्पादन पछिल्ला वर्षमा बढ्दै गएको छ । आर्थिक वर्ष २०७१/७२ मा दुई हजार ३८१ हेक्टरमा कफी खेती हुँदा उत्पादन ४६३.५८ मेट्रिक टन थियो । आर्थिक वर्ष २०७५/७६ मा उत्पादन ५३० मेट्रिक टन पुगे पनि २०७६/७७ मा जलवायु तथा मौसमजन्य समस्या, रोग र सेतो गबारोको प्रकोपका कारण उत्पादन घटेर २९६.५० मेट्रिक टनमा सीमित भएको थियो ।

त्यसपछि उत्पादनमा सुधार हुँदै आर्थिक वर्ष २०८०/८१ मा चार हजार ३०९ हेक्टरमा ५०१.३० मेट्रिक टन ग्रीन बिन कफी उत्पादन भएको थियो । आर्थिक वर्ष २०८१/८२ मा क्षेत्रफल बढेर पाँच हजार ५०१.०५ हेक्टर र उत्पादन ६४१.९० मेट्रिक टन पुगेको छ । एक वर्षमै कफी खेतीको क्षेत्रफल एक हजार १९२ हेक्टर र उत्पादन १४०.६ मेट्रिक टनले बढेको छ ।

प्रदेशगत रूपमा कोशी प्रदेशमा एक हजार ७३४.९५ हेक्टरमा १२८.५५ मेट्रिक टन, बागमतीमा एक हजार ५७८ हेक्टरमा २९२.४५ मेट्रिक टन र गण्डकीमा एक हजार ४५१ हेक्टरमा १५६ मेट्रिक टन कफी उत्पादन भएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा पनि कफी खेती विस्तार भइरहेको छ ।

जिल्लागत रूपमा काभ्रेपलाञ्चोक १२१ मेट्रिक टन ग्रीन बिन उत्पादनसहित अग्रस्थानमा छ । नुवाकोटमा ९०.५० मेट्रिक टन, इलाममा ८३, स्याङ्जा र लमजुङमा ३३-३३, गुल्मीमा ३०, कास्कीमा २४, धादिङमा २०.७० तथा पाल्पा र गोरखामा २०-२० मेट्रिक टन उत्पादन भएको छ ।

उत्पादन बढेसँगै नेपाली कफीको अन्तर्राष्ट्रिय बजार पनि विस्तार हुँदै गएको छ । आर्थिक वर्ष २०८१/८२ मा नेपालबाट करिब ६३ हजार ९९७.५५ किलोग्राम कफी निर्यात भएको छ । यसको मूल्य रु एक करोड १४ लाख ३६ हजार ९७२ रहेको छ । जर्मनी नेपाली कफीको प्रमुख बजार देखिएको छ । त्यहाँ २७ हजार ९८१.७ किलोग्राम कफी निर्यात भएको छ । नेपाली कफी २२ भन्दा बढी मुलुकमा पुगिसकेको छ ।

अर्कोतर्फ नेपालमा कफीको आन्तरिक माग अझै आयातमा निर्भर छ । आर्थिक वर्ष २०८०/८१ मा ४४३ मेट्रिक टन कफी आयात भएकोमा २०८१/८२ मा आयात घटेर २०३.३ मेट्रिक टनमा झरेको छ । आयातित कफीको ठूलो हिस्सा भारतबाट आउने गरेको छ ।

कफीको मूल्यमा समेत पछिल्ला वर्षमा सुधार भएको छ । आर्थिक वर्ष २०८१/८२ मा ताजा कफी चेरी ‘ए’ ग्रेडको मूल्य प्रतिकिलो रु १०५ र ‘बी’ ग्रेडको रु ९५ निर्धारण गरिएको थियो । पार्चमेन्ट कफीमा ‘ए’ ग्रेडको रु ५३५ र ‘बी’ ग्रेडको रु ४८२ तथा ड्राइ चेरीमा ‘ए’ ग्रेडको रु २८० र ‘बी’ ग्रेडको रु २४२ मूल्य निर्धारण गरिएको थियो । आर्थिक वर्ष २०७७ मा ड्राइ चेरी ‘ए’ ग्रेडको मूल्य रु १४८ रहेकामा २०८१/८२ मा रु २८० पुगेको छ ।

स्थानीय तहले अघि सारेका उत्पादनमा आधारित प्रोत्साहन र अनुदानका कार्यक्रमले कफी खेतीलाई स्थानीय अर्थतन्त्रसँग जोड्ने आधार तयार गरिरहेका छन् । यस्ता कार्यक्रमलाई गुणस्तरीय उत्पादन, प्रशोधन र बजारसँग जोड्न सके किसानको आम्दानी र रोजगारी दुवै बढाउन सकिने सम्भावना छ ।

नेपालको कफी क्षेत्र अब कृषि उत्पादनमा मात्र सीमित नभई ग्रामीण अर्थतन्त्र, रोजगारी, स्थानीय उद्यम, सहकारी, पर्यटन र निर्यातसँग जोडिँदै गएको छ । उत्पादन क्षेत्र विस्तारसँगै गुणस्तर, प्रशोधन, बजार र किसानको आम्दानीलाई दिगो बनाउन सके पहाडी क्षेत्रमा कफी खेती दीर्घकालीन आयस्रोत बन्न सक्ने देखिन्छ ।

प्रकाशित मिति: आइतबार, असोज १८, २०८३  १४:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update