RayNewsDaily
‘हामीलाई पाल्ने र बचाउने नै अलैँची हो’   

पाँचथर  । यहाँको सुदूर उत्तरी याङवरक गाउँपालिका वडा नं १ ठिङ्गेपुरका सुकबहादुर बेघाको घरको आँगनसम्मै अलैँचीखेती गरिएको छ । घुर्‍यानसम्म अलैँची लगाउनुभएका बेघाले पछिल्ला दिनमा धान र मकैखेती गर्न छाड्नुभयो ।    
    
 सुकबहादुरका छिमेकी धनमाया बेघाको पनि करेसाबारीमा अलैँचीखेती छ । सबै ठाउँमा अलैँची नै लगाएको धनमाया बताउनुहुन्छ । सोही वडाको बिरुवाका बालनन्द बेघाको पनि आँगनसम्मै अलैँचीखेती छ । बजारमा राम्रो मूल्य पाउँदा दुर्गम ग्रामीण भेगका किसानले मुख्य बालीका रुपमा अलैँचीलाई विस्तार गरिरहेका छन् ।     
    
 धान, मकै र कोदो फल्ने खेतबारी मासेर अलैँचीको खेती विस्तार गर्नुभएका सुकबहादुर बेघा अलैँचीलाई घर परिवारलाई बढी माया गर्ने गरेको बताउनुहुन्छ ।    
    
 “हामीलाई पाल्ने र बचाउने नै यही हो । हामीले नगद पाउने बाटो अलैँची मात्रै हो”, बेघाले भन्नुभयो, “अलैँची फलाए मात्रै साहुले पनि पत्याउँछन् । यो खेती गर्नेले जे मागे पनि दिन्छन् ।” अलैँची फलाउने कृषकले स्थानीय ग्रामीण बजारबाट वर्षैभरि सामग्री खरिद गर्दा बाँकी पाउने गरेको बेघाको भनाइ छ ।    
    
 अलैँचीबाट जीविकोपार्जन सहज भएपछि कृषकले मुख्य प्राथमिकता दिएका छन् । सुकबहादुर अलैँची नै कृषकको इज्जत भएको बताउनुहुन्छ । “हाम्रो इज्जत राख्ने अलैँची भयो”, पूर्णबहादुरले भन्नुभयो, “रच्छ्यान, घु¥यान, धानखेती हुने सबै ठाउँमा अलैँची लगाएका छौँ ।”    
    
 कृषक अलैँचीखेतीमा आकर्षित हुनुमा अलैँचीको मूल्य राम्रो हुनु पनि मुख्य कारण हो । गत वर्षदेखि अलैँची प्रतिमन (प्रति ४० किलोग्राम) रु ८० हजारभन्दा बढी मूल्यमा बिक्री भइरहेको छ । “प्रतिमन रु ८० हजारसम्म पाइयो भने त राम्रो हो । त्यसोहुँदा प्रतिकिलो रु दुई हजार बराबर पर्न जान्छ । त्यति रकम कुनै पनि अन्नबालीबाट प्राप्त हुँदैन”, सुकबहादुरले भन्नुभयो, “अलैँचीले राम्रो भाउ पाए हामीलाई फाइदा नै हुन्छ ।”    
    
 धनमाया बेघाले पनि खेतबारी मासेर अलैँची विस्तार गर्नुभएको छ । “अलैँचीको भाउ पनि राम्रै छ । हात मुख जोड्ने बाटो नै यही भएको छ”, उहाँले भन्नुभयो ।    
    
 अविरल वर्षापछि गत जेठ ८ गते पहिरो झरेर धनमायाको खोलाखोल्सीमा रहेको अलैँचीको मुख्य बगान बगाइदियो । अहिलेसम्म यति ठूलो क्षति कहिल्यै भएको थिएन”, धनमायाले भन्नुभयो, “खेतबारी मासेर लगाइएको अलैँची चाहिँ बाकी रह्यो । त्यसैबाट अलिक आम्दानी गर्न सकिएला कि ।”    
    
 बिरुवाकै पूर्णबहादुर बेघा धान, मकै, कोदोखेती गर्दा लागत पनि नउठ्ने भएकाले धेरै किसान अलँैचीतर्फ आकर्षित भएका छन् । सोही वडाको चाम्लिङडाँडाका रामकुमार राईको विसं २०८० असार र गत जेठमा पहिरो झरेर झण्डै ३० मन अलैँची फल्ने बारी बगाएको छ । अलैँची उत्पादन नभएपछि आयस्रोतको अन्य कुनै बाटो बाँकी नरहने राईको भनाइ छ ।    
    
 “यहाँका बासिन्दा अलैँचीकै कारण गाउँमा अडिएका हौँ । अन्यथा खान पनि नपुग्ने भएर सबै हिँडिसकिन्थ्यो होला”, राईले भन्नुभयो, “हाम्रो दैनिक जीवन नै अलैँचीमा आधारित भएको छ । याङवरक–१ मात्रै होइन जिल्लाका ४० बढी वडामा अलैँची उत्पादन हुने गरेको छ ।”    
    
 पाँचथरमा आर्थिक वर्ष २०८२/८३ मा कुल तीन हजार ३२६ हेक्टर क्षेत्रफलमा अलैँचीखेती गरिएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । यस्तै, कुल एक हजार ३९६.९२ मेट्रिकटन अलैँची उत्पादन भएको कृषि ज्ञान केन्द्र पाँचथरका कृषि प्रसार अधिकृत प्रदीप नेपालीले जानकारी दिनुभयो । रासस   

प्रकाशित मिति: मंगलबार, असोज १३, २०८३  ०९:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update