- १८ दिनपछि कृष्णभिरमा पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालन ।
- एक हजार नौ सयभन्दा बढी रोकिएका सवारीसाधन काठमाडौँ पठाइए ।
- वैकल्पिक मार्गको सास्ती हटेपछि चालक र व्यवसायी उत्साहित ।
चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरमा पहिरोका कारण १८ दिनदेखि अवरुद्ध सडक आज बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको छ । सडक सञ्चालनमा आएपछि राजधानी भित्रिने र बाहिरिने सवारीसाधनको आवतजावत सहज भएको छ ।
पहिरोका कारण ठूला सवारीसाधन बाटोमै रोकिएका थिए भने साना सवारीसाधन वैकल्पिक मार्ग प्रयोग गरी काठमाडौँ आवतजावत गर्दै आएका थिए । मालवाहक ठूला सवारीसाधन राजधानी प्रवेश गर्न नसक्दा एलपी ग्यासका बुलेटसमेत तराईका उद्योगमा बोटलिङ गरेर लैजानुपर्ने अवस्था थियो ।
ठूला मालवाहक ट्रक हेटौँडातर्फबाट सञ्चालन गर्न चालकलाई कठिन हुँदै आएको थियो । कतिपय ठूला सवारीसाधन बाटोमै रोकिएका थिए भने पर्यटकीय बससमेत सञ्चालन हुन सकेका थिएनन् ।
सरकारले तीव्र गतिमा काम गरेपछि छोटो समयमै कृष्णभिरको सडक सञ्चालनमा आएको भन्दै यातायात व्यवसायी उत्साहित भएका छन् । राजधानीतर्फ जाँदै गरेका माइक्रोबसका धनी तथा चालक राजु थापाले कृष्णभिरको सडक दुईतर्फी खुलेपछि सेवा सञ्चालन गर्न सहज भएको बताउनुभयो ।
“कृष्णभिरमा पहिरो गएपछि मैले दुईवटा माइक्रोबस दुईतर्फ नै राखेर यात्रुलाई सेवा दिँदै आएको थिएँ,” उहाँले भन्नुभयो ।
थापाले नारायणगढबाट यात्रु लिएर कृष्णभिरसम्म ल्याउने र त्यहाँ यात्रुलाई हिँडाएर पारि आफ्नै अर्को माइक्रोबसमा राखी काठमाडौँसम्म पुर्याउँदै आउनुभएको थियो ।
काठमाडौँबाट नारायणगढ आइपुग्नुभएका ट्रक चालक शिवकुमार थारुले कृष्णभिर बन्द हुँदा निकै दुःख पाएको बताउनुभयो । उहाँ काठमाडौँ जाँदा हेटौँडा हुँदै जानुभएको थियो । सडक बनेको जानकारी पाएपछि उहाँ आज कृष्णभिर हुँदै फर्किनुभएको हो ।
हेटौँडातर्फबाट जाँदा साँघुरो तथा विभिन्न स्थानमा सडक बिग्रिएकाले समस्या भएको उहाँले बताउनुभयो । “हामीलाई पृथ्वी राजमार्ग नै सजिलो हुन्छ,” थारुले भन्नुभयो ।
अर्का ट्रक चालक खुशीयाल पठान पनि आजै कृष्णभिर हुँदै नारायणगढ आइपुग्नुभएको छ । भैरहवा जान आउनुभएका उहाँले सडक बनेपछि आवतजावत सहज भएको बताउनुभयो । हेटौँडा हुँदै जाँदा बाटो लामो हुने र दुःख पाइने भन्दै उहाँले पृथ्वी राजमार्ग हुँदै आउँदा धेरै सहज भएको बताउनुभयो । सरकारले छोटो समयमा वैकल्पिक मार्ग निर्माण गरेकामा उहाँले धन्यवाद दिनुभयो ।
भैरहवाबाट काठमाडौँ जाँदै गरेका बस चालक आशिष क्षेत्रीले सडक बनेपछि आफूहरूलाई सहज भएको बताउनुभयो । यसअघि काठमाडौँ जाँदा हेटौँडा हुँदै गएको र जामका कारण दुई दिनसम्म समय लागेको उहाँले बताउनुभयो ।
हेटौँडा हुँदै जाँदा सडक ८१ किलोमिटर लामो पर्ने उल्लेख गर्दै क्षेत्रीले सडक साँघुरो, ठाउँठाउँमा भत्किएको र लामो हुँदा निकै दुःख पाएको बताउनुभयो । “काम गरे सकिन्छ भन्ने प्रमाण कृष्णभिरले दिएको छ,” उहाँले भन्नुभयो ।
पर्साको ठोरीबाट काठमाडौँ आवतजावत गर्ने बस चालक रुपेश परियारले कृष्णभिरमा पहिरो गएपछि आफूले बस चलाउन छाडेको बताउनुभयो । वैकल्पिक बाटो लामो र अप्ठ्यारो भएकाले बस थन्क्याउनुपरेको भन्दै उहाँले अब सडक बनेसँगै पृथ्वी राजमार्ग हुँदै बस सञ्चालन गर्ने बताउनुभयो ।
“हेटौँडा हुँदै जाँदा खर्च नधान्ने भएपछि हामीले बस चलाउन बन्द गर्नुपर्ने अवस्था आयो,” उहाँले भन्नुभयो ।
कृष्णभिरमा सडक बनेपछि बुधबार साँझ सडकमा रोकिएका सवारीसाधनलाई आवतजावत गराइएको थियो । चितवनतर्फबाट मात्रै एक हजार नौ सय हाराहारी रोकिएका सवारीसाधन काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलले बताउनुभयो । उहाँका अनुसार आज बिहानदेखि कृष्णभिर हुँदै सवारीसाधन सहज रूपमा आवतजावत गरिरहेका छन् ।
कृष्णभिरको सडकको फेदमा त्रिशूली नदीले कटान गरेपछि सडक पूर्ण रूपमा भासिएको थियो । झण्डै एक सय मिटर सडक भासिएपछि नजिकैबाट भित्तो काटेर वैकल्पिक मार्ग निर्माण गरिएको हो ।
नियमित रूपमा तीव्र गतिमा काम गरिएकै कारण १८औँ दिनमा सडक पूर्ववत् अवस्थामा सञ्चालनमा आएको हो । सडक अवरुद्ध हुँदा रोकिएका तथा वैकल्पिक मार्ग प्रयोग गर्दा सास्ती खेपेका सवारी चालकले सडक सञ्चालनमा आएपछि खुसी व्यक्त गरेका छन् । रासस
