RayNewsDaily
गोरखाको उहियामा बाँदरले छाडेको पाखामा फस्टाउँदै मार्सी धान
  • बाँदरका कारण बाँझिएका पाखा-पखेरामा उहियाका महिलाले मार्सी धान खेती सुरु गरे ।
  • २० रोपनीबाट सुरु भएको खेती यस वर्ष ४० रोपनीमा विस्तार, करिब ५० मुरी उत्पादन ।
  • मार्सी धान र फापरको बजार माग उच्च, समूहमा २२ घरधुरी आबद्ध ।

गोरखा । बाँदरले हैरान पारेपछि बाँझै छाडिएका पाखा-पखेरामा स्थानीयले मार्सी धानको व्यावसायिक खेती सुरु गरेका छन् । गोरखाको उच्च पहाडी क्षेत्र धार्चे गाउँपालिका-३ उहियामा स्थानीय उहिया कृषक आमा समूहको नेतृत्वमा लोकप्रिय मार्सी धानको सामूहिक खेती सुरु भएको हो ।

समूहकी संस्थापक प्रमिना घलेका अनुसार वर्षौंदेखि बाँझो रहेका पाखा-पखेरामा समूह गठन गरेर मार्सी धान खेती सुरु गरिएको हो । “बाँदर लागेर हैरान पारेपछि खेती गर्न छाडेका पाखामा समूह गठन गरेर मार्सी धान लगाउन सुरु गर्‍यौँ,” उहाँले भन्नुभयो, “सामूहिक रूपमा काम गरेपछि आलोपालो गरेर बाँदर कुर्ने, काम गर्ने र आम्दानी पनि हुने भयो । बाँझो जमिनको पनि सदुपयोग भयो ।”

समूहले २०८१ सालमा २० रोपनी जमिनमा मार्सी धान खेती सुरु गरेको उहाँले जानकारी दिनुभयो । पहिलो वर्ष २१ मुरी धान उत्पादन भएकोमा दोस्रो वर्ष ३० मुरी र यस वर्ष करिब ५० मुरी मार्सी धान उत्पादन भएको छ ।

घलेका अनुसार यस वर्ष खेती गर्ने जमिनसमेत विस्तार गरिएको थियो । “यस वर्ष ४० रोपनी क्षेत्रफलमा धान लगाएका थियौँ, करिब ५० मुरी मार्सी धान फलेको छ,” उहाँले भन्नुभयो ।

उहाँका अनुसार समूहले मार्सी धान भित्र्याएलगत्तै खाली हुने जमिनमा फापर खेती गर्छ । उहियामा उत्पादन हुने र बजारमा उच्च माग रहेका मार्सी धान र फापरको खेती गर्दै आएको उहाँको भनाइ छ ।

“बजारमा यसको माग पनि उच्च छ । यहाँको उत्पादन बजारसम्म पुर्‍याउन भने केही चुनौती छन्,” उहाँले भन्नुभयो, “मार्सी धान र फापर अन्य फलफूल, तरकारीजस्तो हत्तपत्त बिग्रँदैन । यसलाई यहीँ थन्क्याएर राख्न मिल्ने र पछि मागअनुसार पठाउन मिल्ने भएकाले पनि खेती गरेका हौँ ।”

उहिया कृषक आमा समूहले कुटानी नभएको मार्सी धान र फापर क्रमशः पाथीको २२५ र ५०० रुपैयाँमा बिक्री गर्दै आएको छ । समूहमा उहियाका २२ घरधुरी आबद्ध छन् ।

विगतमा पनि उहियामा मार्सी धान खेती गरिन्थ्यो । तर, त्यसको उपयोग घरायसी प्रयोजनका लागि मात्र हुने गरेको स्थानीय कुमार घलेले बताउनुभयो । उहाँका अनुसार तीन वर्षदेखि महिलाले व्यावसायिक उत्पादनका लागि सामूहिक रूपमा खेती सुरु गरेका हुन् ।

“यहाँको रैथाने बाली कोदो, मकै, गहुँ आदिमा बाँदर लागेपछि त्यसको विकल्पमा मार्सी धान लगाउन थालेको हो,” उहाँले भन्नुभयो, “यहाँ उत्पादन हुने रैथाने बाली मदिरा उत्पादनमा बढी प्रयोग हुने र त्यसले समाजमा विकृति फैलाउने भएकाले पनि महिलाले मार्सी धान उत्पादनलाई प्राथमिकतामा राखेका हुन् ।”

मार्सी धान पाक्न पनि कम समय लाग्ने र यसको उत्पादनबाट महिलाको आर्थिक स्थिति उकासिने उहाँले बताउनुभयो । रासस

प्रकाशित मिति: बिहीबार, भदौ २५, २०८३  ०९:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update