भोजपुर । ग्रामीण क्षेत्रसम्म सडक सञ्जाल र यातायातको पहुँच विस्तार भएसँगै भोजपुरका दुर्गम गाउँमा पालिएका खसीबोकाले सहज रूपमा बजार र उचित मूल्य पाउन थालेका छन् ।
यातायातको सहजतासँगै स्थानीयस्तरमा उत्पादन भएका खसीबोका ठूला सहरमा जान थालेपछि किसानलाई बेचबिखनमा पनि सहजता भएको हो । यसबाट आर्थिक उपार्जन पनि राम्रो भएको छ ।
पहिला दसैँ–तिहारजस्ता ठूला चाडपर्वका बेलामात्र फाट्टफुट्ट खसीबोका बिक्री हुने गर्दथे । किसानलाई खसीबोका बेच्न स्थानीय हाटबजारसम्म डोहोर्याएर लैजानुपर्ने झन्झटसँगै सोचेजस्तो मूल्य नपाइने बाध्यता थियो । अहिले सडक सञ्जाल विस्तार भएसँगै गाउँका खसीबोका काठमाडौँ, धरान, इटहरी र विराटनगरजस्ता ठूला सहरसम्म पुग्न थालेका छन् ।
अहिले गाउँमै जिउँदो खसीबोका प्रतिकिलो रु ५०० देखि ६०० सम्ममा सहजै बिक्री भइरहेको छ । राम्रो मूल्य पाउन थालेपछि जिल्लामा बाख्रापालनमा किसानको आकर्षणसमेत बढेको छ ।
गाउँबाट खसीबोका सङ्कलन गरेर काठमाडौँ पठाउँदै आएका स्थानीय व्यापारी गणेश विष्टका अनुसार अहिले महिनामा २०० का हाराहारीमा खसीबोका काठमाडौँ पठाउने गरिएको छ । युवाहरू मिलेर गाउँबाट सङ्कलन गरिएका खसीबोका काठमाडौँ ढुवानी गर्दा प्रतिगोटा रु ८०० देखि एक हजार ५०० सम्म भाडा लाग्ने गरेको उहाँले जानकारी दिनुभयो ।
घरआँगनबाटै खसीबोका बिक्री हुन थालेपछि किनबेचमा ठूलो सहजता आएको टेम्केमैयुङ–५ मझौलेका स्थानीय हर्कराज लुइँटेल बताउनुहुन्छ । घरमै तराजुमा जोखेर बेचिने भएकाले ठगिने सम्भावना नरहेको उहाँको भनाइ छ । आफूलाई पैसा खाँचो परेको अवस्थामा तुरुन्तै बिक्री हुँदा गर्जो टार्न सहज भएको उहाँले जानकारी दिनुभयो ।
“यातायातको सुविधाका कारण गाउँघरमा पालिएका खसीबोका अहिले काठमाडौँलगायतका ठूला सहरसम्म जान थालेका छन्”, उहाँले भन्नुभयो, “विगतमा अन्दाजको भरमा बेच्नुपर्दा घाटा सहनु पथ्र्यो । अहिले व्यापारी आफैँ खोरसम्म खोज्दै आउँछन् । खोरबाटै राम्रो मूल्यमा बिक्री गर्न पाउँदा निकै सहज भएको छ ।”
अर्का स्थानीय किसान रमेश विष्टले पनि घरैबाट सोचेजस्तो मूल्यमा खसीबोका बिक्री हुन थालेपछि बाख्रापालनबाट मनग्य आम्दानी लिन सकिने अवस्था बनेको बताउनुभयो । “विगतमा पनि खसीबोका बिक्री त हुन्थे, तर सहज थिएन”, उहाँले भन्नुभयो, “आफूलाई परेका बेला तत्कालै बिक्री हुने अवस्था पनि थिएन । तर अहिले भने बिक्रीका लागि कुनै समस्या छैन ।” सडक सुविधाका कारण बजारको पहुँच विस्तार भएसँगै दुर्गम गाउँका किसानका लागि बाख्रापालन व्यवसाय भरपर्दो र गतिलो आम्दानीको स्रोत बन्दै गएको छ । रासस
