RayNewsDaily
नागढुङ्गा सुरुङमार्ग आजदेखि साना सवारीका लागि आंशिक खुला
  • नागढुङ्गा सुरुङमार्ग साना सवारीका लागि खुला ।
  • बिहान ९ देखि साँझ ६ बजेसम्म एकतर्फी सञ्चालन ।
  • दुईपाङ्ग्रे र प्रज्वलनशील पदार्थ बोकेका सवारीलाई रोक ।

रे समाचार/काठमाडौँ । नागढुङ्गा सुरुङमार्ग आजदेखि सर्वसाधारणका लागि आंशिक रूपमा खुला गरिएको छ । यसअघि आपत्कालीन सेवाका सवारीसाधनलाई मात्र प्रवेश दिई परीक्षण हुँदै आएको सुरुङमार्ग आजदेखि कार, जिप र भ्यानका लागि खुला गरिएको सडक विभागका महानिर्देशक डा. विजय जैसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सुरुङमार्ग अझै परीक्षणकै क्रममा रहेकाले हाल साना सवारीसाधनलाई मात्र प्रवेश दिइएको हो । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले गत ११ साउनमा सुरुङमार्गको उद्घाटन गर्नुभएको थियो ।

surung-marg-1787559361.jpg
सुरुङमार्गमा अति प्रज्वलनशील पदार्थ बोकेका सवारीसाधन र दुईपाङ्ग्रे सवारीसाधनलाई भने प्रवेश दिइने छैन । अन्य ठूला सवारीसाधनलाई परीक्षण अवधि पूरा भएपछि सुरुङमार्गबाट सञ्चालन गर्न दिइनेछ ।
महानिर्देशक जैसीका अनुसार हाल बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सुरुङमार्ग एकतर्फी रूपमा मात्र सञ्चालन हुनेछ । अवस्था हेरेर एक-दुई दिनमा क्रमशः दुईतर्फी यातायात सञ्चालन गर्ने तयारी छ ।

सुरुङमार्ग सञ्चालनको समय पनि क्रमशः विस्तार गर्ने योजना रहेको छ । पहिलो चरणमा बिहान ७ बजेदेखि साँझ ८ बजेसम्म र त्यसपछि बिहान ६ बजेदेखि राति १० बजेसम्म सञ्चालन गर्ने योजना रहेको जैसीले बताउनुभयो ।

प्रकाशित मिति: सोमबार, भदौ ८, २०८३  १३:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update