हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका –८ महादेवटारस्थित तराई–मधेश द्रुतमार्गमा लोडरको ठक्करबाट एक चिनियाँ नागरिकको मृत्यु भएको छ । शनिबार दिउँसो करिब २ बजे काम गर्ने क्रममा लोडरको पछाडिको चक्काले ठक्कर दिँदा चीनको सिचुआन प्रान्तका ५१ वर्षीय गुओ फाङ्गसुनको घटनास्थलमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार लोडरको चक्काले ठक्कर दिँदा गम्भीर घाइते भएका गुओको घटनास्थलमै मृत्यु भएको हो । उहाँ चीन रेलवे नम्बर २ इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेडको तर्फबाट २०८२ फागुन ३ गतेदेखि द्रुतमार्गमा सुपरभाइजरका रूपमा कार्यरत हुनुहुन्थ्यो ।
प्रहरीका अनुसार द्रुतमार्गमा कार्यरत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका –१ का ४८ वर्षीय गौरसिंह साउदले चलाएको लोडरले काम गर्ने क्रममा गुओलाई ठक्कर दिएको थियो । घटनास्थलमा शव जाँच मुचुल्का लगायतका प्रारम्भिक कानुनी प्रक्रिया पूरागरी मृतकको शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज, काठमाडौँको शवगृहमा राखिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
