- खेतबारीबाटै तरकारी बिक्री ।
- स्थानीय उत्पादनले राम्रो मूल्य पाउँदै ।
- व्यावसायिक खेतीतर्फ किसान आकर्षित ।
राँझा (बाँके) । भारतबाट आयात हुने तरकारीमा भन्सार कडाइ भएपछि बाँकेका किसानले उत्पादन गरेको तरकारीले बजार र राम्रो मूल्य पाउन थालेको छ । यससँगै विगतमा निर्वाहमुखी खेती गर्दै आएका किसानसमेत व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भएका छन् ।
कृषि ज्ञान केन्द्र बाँकेका निमित्त प्रमुख वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माका अनुसार जिल्लामा अहिले छ हजार ३५२ हेक्टर जमिनमा वार्षिक करिब १३ मेट्रिकटन तरकारी उत्पादन हुने गरेको छ । केन्द्रले महिला तथा बालबालिका पोषण सुधार कार्यक्रमअन्तर्गत एक हजार ३५० किसानलाई लौका, फर्सी, करेलालगायत हिउँदे तरकारीका बीउसमेत वितरण गरेको छ ।
भारतबाट आउने सस्तो तरकारीसँग प्रतिस्पर्धा गर्न नसकेका स्थानीय किसानले अहिले उत्पादनको राम्रो मूल्य पाउन थालेका छन् । भन्सारमा कडाइ भएपछि आयात घट्दा स्थानीय उत्पादनले बजार पाएको नेपालगञ्जस्थित रानीतलाउ कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष मोतिसरा थापा क्षेत्रीले बताउनुभयो ।
उहाँका अनुसार नेपालगञ्जको रानीतलाउ बजारमा अहिले बाँकेमै उत्पादन भएका तरकारी आउने गरेका छन् । भारतबाट तरकारी आयात गर्दा भन्सार तिर्नुपर्ने भएकाले लागत बढेपछि व्यवसायीले आयात घटाएका छन् ।
नेपालगञ्ज बजारमा अहिले बाँकेका किसानले उत्पादन गरेका फूलगोभी, बन्दागोभी, लौका, फर्सी, काँक्रा, बोडी, गोलभेडा र खुर्सानीलगायत तरकारीको कारोबार भइरहेको छ ।
डुडुवा गाउँपालिका-६ हिरमिनिया तथा नेपालगञ्ज उपमहानगरपालिका-१४ भवानीयापुर, १७ परसपुर, १९ बसुदेवपुर, २१ पुरैनी र २२ पुरैनालगायत क्षेत्रमा किसानले व्यावसायिक तरकारी खेती गर्दै आएका छन् ।
नेपालगञ्ज-१९ का अगुवा किसान गोपी यादवका अनुसार खेतबारीबाटै राम्रो मूल्यमा तरकारी बिक्री हुन थालेपछि गाउँमा व्यावसायिक खेती गर्ने किसानको सङ्ख्या बढेको छ । विगतमा तरकारी बिक्री गर्न टाढा जानुपर्ने अवस्था रहे पनि अहिले स्थानीय बजारमै बिक्री हुन थालेको उहाँले बताउनुभयो ।
नेपालगञ्ज-२१ पुरैनाका किसान जलालुद्दीन बागवानले पनि आयात घटेपछि स्थानीय उत्पादनले राम्रो मूल्य पाएको बताउनुभयो । विगतमा मण्डीमा लैजाँदासमेत सस्तो मूल्यमा बिक्री गर्नुपर्ने अवस्था रहे पनि अहिले बारीबाटै राम्रो मूल्यमा तरकारी बिक्री भइरहेको उहाँले जानकारी दिनुभयो । रासस
