- वडाको कामपछि किवी खेतीमा व्यस्त।
- १५ रोपनीमा १५५ किवीका बोट ।
- वार्षिक तीन लाख रुपैयाँ आम्दानी ।
रामकुमार लिम्बू/इलाम । सन्दकपुर गाउँपालिका-२ का वडाध्यक्ष सनम राई जनप्रतिनिधिको जिम्मेवारीसँगै व्यावसायिक किवी खेती गरेर गाउँमै उदाहरणीय कृषक बन्नुभएको छ । वडा कार्यालयको सेवा समय सकिएपछि उहाँ आफ्नो १५ रोपनी क्षेत्रफलमा रहेको किवी बगानमा व्यस्त हुनुहुन्छ ।
राईले २०७७ सालमा ‘पौरखी कृषि तथा पशुपंक्षी फार्म’ दर्ता गरी व्यावसायिक किवी खेती सुरु गर्नुभएको हो । उहाँको बगानमा ‘ग्रीन’ र ‘गोल्डेन’ जातका १५५ वटा किवीका बोट छन् । लहरा चढाउन ३१० वटा पक्की पिल्लर र फलामको तार प्रयोग गरी मचान बनाइएको छ ।
रु दुई लाख लगानीबाट सुरु गरिएको किवी खेतीबाट हाल वार्षिक करिब रु तीन लाख आम्दानी भइरहेको राईले बताउनुभयो । सिजनमा स्थानीय व्यापारीले बगानबाटै प्रतिकेजी रु १०० देखि रु १२० सम्ममा किवी खरिद गर्ने गरेका छन् ।
परम्परागत रूपमा गरिँदै आएको आलु र मकै खेतीबाट वर्षभरि खानसमेत नपुग्ने भएपछि आम्दानीको सम्भावना देखेर किवी खेती सुरु गरेको राईको भनाइ छ । उहाँले युवालाई विदेश जानुभन्दा बाँझो जमिनको सदुपयोग गरी गाउँमै कृषि व्यवसायमार्फत स्वरोजगार बन्न आग्रह गर्नुभएको छ ।
राईले यस वर्षदेखि अलैँची खेतीसमेत सुरु गर्नुभएको छ । उहाँले सात हजार अलैँचीका बिरुवा रोप्नुभएको छ ।
राई वडाध्यक्षमा निर्वाचित हुनुअघि नै उहाँको फार्मलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले आर्थिक वर्ष २०७८/७९ मा ५० प्रतिशत लागत साझेदारीमा रु एक लाख ५० हजार अनुदान दिएको थियो । फार्मले पनि रु एक लाख ५० हजार लगानी गरी किवी खेती विस्तार गरेको उहाँले बताउनुभयो ।
इलामका सन्दकपुर, इलाम, माङसेबुङ र देउमाईका माथिल्लो क्षेत्रका किसान पछिल्लो समय परम्परागत खेती छाडेर व्यावसायिक किवी खेतीतर्फ आकर्षित भएका छन् । तुलनात्मक रूपमा राम्रो आम्दानी र बजारको सहजताका कारण किवी खेतीप्रति किसानको आकर्षण बढेको हो । रासस
