RayNewsDaily
कैलालीमा कृषि ‘पकेट’ क्षेत्र विकासका लागि साढे ५ करोड अनुदान
एआई निर्मित सांकेतिक तस्वीर ।
  • ३७३ जना किसान लाभान्वित ।
  • बाख्रा, भैँसी, बङ्गुर र मत्स्यपालनमा अनुदान । 
  • १३ वटै स्थानीय तहमा कार्यक्रम सञ्चालन ।

कैलाली । कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह दुई उत्पादन अभियान’अन्तर्गत विशेष पकेट क्षेत्र विकास कार्यक्रम सञ्चालन गरी गत आर्थिक वर्षमा रु. ५ करोड ५० लाख अनुदान उपलब्ध गराइएको छ । कार्यक्रमबाट जिल्लाका ३७३ किसान लाभान्वित भएका छन् ।

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख चन्द्रकान्त पन्तका अनुसार किसानलाई स्थानीयस्तरमै व्यवसाय सञ्चालन गर्न सहज बनाउँदै आयआर्जन बढाउने र बढीभन्दा बढी किसानलाई उत्पादनमा जोड्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रमअन्तर्गत बाख्रा, भैँसी, बङ्गुर तथा मत्स्यपालन गर्ने फार्म, समूह र सहकारीलाई अनुदान उपलब्ध गराइएको छ । चुरे, मोहन्याल, गौरीगङ्गा, घोडाघोडी, लम्कीचुहा, टीकापुर, जानकी, भजनी, धनगढी, बर्दगोरिया, जोशीपुर र कैलारीका किसान तथा समूहलाई विभिन्न शीर्षकमा अनुदान दिइएको केन्द्रले जनाएको छ ।

अनुदानमध्ये बाख्रापालनतर्फ विभिन्न फार्म, समूह र सहकारीलाई रु. ४० लाखका दरले, भैँसीपालनतर्फ रु. ४०-५० लाखसम्म तथा बङ्गुर र मत्स्यपालनतर्फ रु. ४० लाखसम्म उपलब्ध गराइएको छ ।

‘एक स्थानीय तह दुई उत्पादन’ अभियानअन्तर्गत एउटा कार्यक्रम भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र अर्को कृषि ज्ञान केन्द्रमार्फत सञ्चालन हुने प्रमुख पन्तले बताउनुभयो ।

यसैगरी, एकल महिला, कमैया, सीमान्तकृत समुदाय, अपाङ्गता भएका व्यक्ति तथा विपन्न वर्गलाई लक्षित गरी बाख्रा तथा बङ्गुरपालनका लागि २१ समूहलाई प्रतिग्रुप रु. एक लाख ७८ हजारका दरले अनुदान दिइएको छ ।

सामुदायिक पशु व्यवस्थापनअन्तर्गत तीन गौशालाको थप व्यवस्थापनका लागि रु. नौ लाख ५० हजार तथा हलगोरु र राँगा पाल्दै आएका ५५१ किसानलाई प्रतिकिसान रु. दुई हजार ७०० का दरले रु. १४ लाख ८७ हजार प्रोत्साहन रकम उपलब्ध गराइएको छ ।

कार्यक्रमबाट स्थानीयस्तरमा पशुपालन तथा मत्स्यपालन व्यवसाय विस्तारसँगै कृषि उत्पादन र किसानको आयआर्जन बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । रासस

प्रकाशित मिति: आइतबार, साउन ३१, २०८३  १४:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update