- ३८.८६ किलोमिटर सडकमा १८ किलोमिटर कालोपत्रे ।
- चार पुल निर्माण अन्तिम चरणमा ।
- बर्खापछि निर्माण तीव्र पारिने ।
चितवन । पृथ्वी राजमार्गको नागढुङ्गा-मुग्लिन सडकअन्तर्गत तेस्रो प्याकेज मुग्लिन-मलेखु खण्डको काम सम्झौताको तीन वर्ष छ महिनामा ४६ प्रतिशत मात्र पूरा भएको छ । ३८ दशमलव ८६ किलोमिटर लामो सडकको १८ किलोमिटर कालोपत्रे भइसकेको आयोजनाले जनाएको छ ।
करिब ९५ किलोमिटर लामो नागढुङ्गा-मुग्लिन सडकलाई तीन प्याकेजमा विभाजन गरी स्तरोन्नतिको काम भइरहेको छ । पहिलो प्याकेज नागढुङ्गा-नौबिसे, दोस्रो नौबिसे-मलेखु र तेस्रो मलेखु-मुग्लिन खण्ड रहेको छ ।
तेस्रो प्याकेजअन्तर्गत २०७९ पुस १५ गते तीन वर्षभित्र काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । आयोजनाका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार हालसम्म ४६ प्रतिशत काम सम्पन्न भएको छ ।
बर्खाका कारण अहिले केही दिन काम प्रभावित हुने र वर्षात् सकिएपछि निर्माणलाई तीव्रता दिइने उहाँले बताउनुभयो । उक्त खण्डमा रहेका छ पुलमध्ये चारवटाको काम अन्तिम चरणमा पुगेको छ भने दुईवटा पुलको संरचना निर्माण भइरहेको छ ।
सडक क्षेत्रमा रहेका घर, रुख तथा बिजुलीका पोल स्थानान्तरण र नक्साङ्कनमा भएको परिवर्तनका कारण काममा ढिलाइ भएको आयोजनाले जनाएको छ । बिजुलीका केही पोल अझै स्थानान्तरण गर्न बाँकी रहेको तथा निर्माण सामग्री समयमा उपलब्ध नहुँदा पनि काम प्रभावित भएको हो ।
पछिल्लो समय बिटुमिनको अभावले समेत निर्माणमा ढिलाइ भएको सूचना अधिकारी मिश्रले बताउनुभयो । निर्माण कम्पनीले कालोपत्रेका लागि दुईवटा अस्फाल्ट प्लान्ट सञ्चालन गर्न नसक्दा पनि काम प्रभावित भएको उहाँको भनाइ छ ।
कूल रु चार अर्ब ८० करोड ५९ लाख लागतमा निर्माण हुने उक्त सडकको जिम्मा शर्मा-जेडआइसिजीले पाएको छ । २०८२ पुस १५ गतेभित्र काम सम्पन्न गर्ने प्रतिबद्धतासहित ठेक्का सम्झौता गरिएको थियो ।
विश्व बैंकको सहुलियतपूर्ण ऋणमा अघि बढाइएको यो सडकखण्ड राजधानी प्रवेश तथा बाहिरिने सवारीसाधनको उच्च चाप रहने मार्ग हो । उक्त सडक हुँदै दैनिक करिब १५ हजार सवारीसाधन आवतजावत गर्ने अनुमान छ ।
सडक स्तरोन्नति सम्पन्न भएपछि राजधानी प्रवेश तथा बाहिरिने यात्रुले अहिले भोग्दै आएको सडकको हैरानी कम हुने अपेक्षा गरिएको छ । रासस
