RayNewsDaily
कोरोला नाका जोड्ने घमी खोला पुल निर्माण सम्पन्न
  • घमी खोलामा ४० मिटर लामो पक्की मोटरेबल पुल निर्माण सम्पन्न ।
  • मालढुङ्गा-कोरोला २०२ किलोमिटर सडकखण्डमा १५ वटा पुल निर्माण पूरा ।
  • पुल बनेसँगै कोरोला नाकातर्फ वर्षभरि आवागमन सहज हुने ।

मुस्ताङ । उत्तर-दक्षिण व्यापारिक मार्गअन्तर्गत जोमसोम-कोरोला नाका जोड्ने मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका-२ स्थित घमी खोलामा पक्की मोटरेबल पुल निर्माण सम्पन्न भएको छ । पुल सञ्चालनमा आएपछि कोरोला नाका र उपल्लो मुस्ताङतर्फको आवागमन थप सहज भएको छ ।

बेनी-जोमसोम-कोरला सडक आयोजनाका अनुसार पर्वतको मालढुङ्गादेखि मुस्ताङको कोरोला नाकासम्मको २०२ किलोमिटर सडकखण्डमा हालसम्म १५ वटा पक्की पुल निर्माण सम्पन्न भएका छन् । विसं २०७५ पुस ९ गते ठेक्का सम्झौता भएको घमी खोला पुल सम्झौताअनुसार २०७८ पुस ९ गतेभित्र निर्माण सम्पन्न हुनुपर्ने थियो ।

कठोर भूगोल, प्रतिकूल मौसम, हिमपात र निर्माण कम्पनीको ढिलासुस्तीका कारण पुल निर्माणमा लामो समय लागेको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो । निर्माण कम्पनीलाई पटकपटक ताकेता र कारबाही गर्दै सार्वजनिक खरिद ऐन तथा नियमावलीअनुसार छ महिनाको समयावधि तोकेर दैनिक जरिवानासमेत गरिएको थियो ।

४० मिटर लामो पुल निर्माणको ठेक्का सम्झौता लागत रु ६ करोड ८० लाख रहेको थियो । पुलका पिलर फाउन्डेसन, स्ल्याब ढलान, प्रोटेक्सन तथा एप्रोच सडक र फिनिसिङका काम सम्पन्न भएका छन् ।

यसअघि बर्खायाममा घमी खोलामा पानीको बहाव बढ्दा कोरोला नाका र उपल्लो मुस्ताङतर्फ जाने सवारीसाधन तथा चीनबाट आयातित सामान बोकेका मालवाहक कन्टेनर रोकिने गरेका थिए । गत वर्ष यातायात सञ्चालन सहज बनाउन व्यापारी र गाउँपालिकाको सहयोगमा डाइभर्सन सडक निर्माण गरिएको थियो ।

घमी खोला पुल सम्पन्न भएपछि बाह्रै महिना सडक आवागमन सहज हुने लो घेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोबसाङ छोम्पेल विष्टले बताउनुभयो ।

यसैबीच, कोरोला नाका सडकलाई थप सहज बनाउन मुस्ताङको घट्टे खोला र थापा खोलामा पुल निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ । छुसाङदेखि घमीसम्मको सडक कालोपत्रका लागि रु दुई अर्बको बोलपत्रसमेत आह्वान गरिएको आयोजनाले जनाएको छ । रासस

प्रकाशित मिति: मंगलबार, साउन २६, २०८३  १४:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update