- माडी जाने सडकको कसरा चोकदेखि रिउखोलासम्म झाडी सफाइ सुरु ।
- वन्यजन्तु लुक्ने र दुर्घटनाको जोखिम घटाउन सडक किनार सफा गरिँदै ।
- झाडी सफाइसँगै सडकका खाल्डाखुल्डी पुर्ने र मर्मतसम्भार पनि सुरु ।
नारायणगढ । चितवनको भरतपुर महानगरबाट चितवन राष्ट्रिय निकुञ्ज हुँदै माडी जाने सडकको छेउछाउमा बढेको झाडी सफाइ सुरु गरिएको छ । वर्षायाममा सडक किनारमा झाडी बढ्दा वन्यजन्तु लुक्ने र सवारीसाधन तथा यात्रुमाथि आक्रमण तथा दुर्घटनाको जोखिम बढ्ने भएकाले सफाइ थालिएको हो ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार निकुञ्ज, स्थानीय तह र सडक डिभिजन कार्यालयको समन्वयमा आजदेखि झाडी सफाइ सुरु गरिएको हो । निकुञ्जको कसरा चोकदेखि रिउखोलासम्मको सडक क्षेत्रमा झाडी सफाइ गरिने उहाँले जानकारी दिनुभयो ।

यात्रुको सुरक्षालाई ध्यानमा राखेर सडक छेउछाउमा वन्यजन्तु लुक्न सक्ने क्षेत्रको झाडी फँडानी गर्न अनुमति दिइएको उहाँले बताउनुभयो । निकुञ्जभित्रका वन्यजन्तु तथा मुख्य वनस्पतिमा असर नपर्ने गरी आवश्यक क्षेत्रको मात्र झाडी फँडानी गरिने उहाँको भनाइ छ ।
सडक डिभिजन कार्यालयले झाडी सफाइसँगै सडकका खाल्डाखुल्डी पुर्ने तथा आवश्यक मर्मतसम्भारको कामसमेत सुरु गरेको छ । वर्षायाममा झाडी बढ्दा सवारी चालकलाई वन्यजन्तु देख्न कठिन हुने भएकाले सफाइपछि सडकको दृश्यता बढ्नुका साथै वन्यजन्तु र यात्रु दुवैको सुरक्षामा सहयोग पुग्ने अपेक्षा गरिएको छ । रासस
