RayNewsDaily
नेपाल-मंगोलियाबीच बौद्ध संस्कृति र चेस सहकार्य विस्तार
  • बौद्ध संस्कृति र चेस प्रवर्द्धनमा सहकार्य गर्ने तयारी ।
  • शिक्षा, व्यापार र द्विपक्षीय सम्बन्ध विस्तारमा जोड ।
  • भूपरिवेष्टित मुलुकका साझा हितमा मिलेर काम गर्ने प्रतिबद्धता ।

रे समाचार/काठमाडौँ । नेपाल भ्रमणमा रहेका मंगोलियाका पूर्वप्रधानमन्त्री तथा मंगोलियन चेस फेडेरेसनका अध्यक्ष गोम्बोजभ जन्दानशातारले नेपालसँग बौद्ध मूल्य-मान्यता, संस्कृति, शिक्षा र चेस खेलको विकासका क्षेत्रमा सहकार्य गर्न मंगोलिया इच्छुक रहेको बताउनुभएको छ । सोमबार सिंहदरबारमा परराष्ट्रमन्त्री शिशिर खनाल र शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग छुट्टाछुट्टै भएको भेटवार्तामा उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

परराष्ट्रमन्त्री खनालसँगको भेटमा नेपाल र मंगोलियाबीचको द्विपक्षीय सम्बन्ध, साझा भूराजनीतिक तथा सांस्कृतिक समानता, विकास, व्यापार, साझेदारी र बौद्ध मूल्य-मान्यताका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ । जन्दानशातारले बदलिँदो विश्व व्यवस्थामा नेपाल र मंगोलियाजस्ता साना तथा भूपरिवेष्टित मुलुकले साझा हितका विषयमा अझ नजिकबाट सहकार्य गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले दुवै देश साझा बौद्ध संस्कृति र आध्यात्मिक सम्बन्धले जोडिएको उल्लेख गर्दै नेपाललाई आध्यात्मिक छिमेकीका रूपमा व्याख्या गर्नुभएको छ ।

mangolia-1785746042.jpg
शिक्षामन्त्री पोखरेलसँगको भेटमा विद्यालय शिक्षामा विशेषगरी चेस खेलको प्रवर्द्धन, चेसलाई शिक्षासँग जोड्ने अभ्यास र दुवै देशका चेस फेडेरेसनबीच सहकार्यका सम्भावनाबारे पनि छलफल भएको छ । जन्दानशातारले चेस खेल मात्र नभई विद्यार्थीको समालोचनात्मक सोच, निर्णय क्षमता र बौद्धिक विकासको प्रभावकारी माध्यम भएको बताउनुभएको छ । उहाँले विद्यालय शिक्षामा चेसको विस्तारका लागि नेपालसँग सहकार्य गर्न मंगोलिया तयार रहेको जानकारी दिनुभएको छ ।

परराष्ट्रमन्त्री खनालले नेपाल र मंगोलियाबीचको सम्बन्ध थप सुदृढ बनाउन, विकास, व्यापार र साझेदारीका क्षेत्र विस्तार गर्न तथा भूपरिवेष्टित मुलुकका अधिकार र हितका पक्षमा संयुक्त रूपमा काम गर्न नेपाल प्रतिबद्ध रहेको बताउनुभयो । शिक्षामन्त्री पोखरेलले विद्यालय शिक्षामा खेलकुद, विशेषगरी चेसको प्रवर्द्धनका लागि मंगोलियन सरकार र मंगोलियन चेस फेडेरेसनसँग सहकार्य अघि बढाउन नेपाल इच्छुक रहेको धारणा व्यक्त गर्नुभयो । नेपालले विद्यालय शिक्षामा खेलकुदलाई थप प्रभावकारी रूपमा समायोजन गर्ने तयारी गरिरहेको उल्लेख गर्दै उहाँले दुवै देशका चेस फेडेरेसनबीच सहकार्यका लागि सकारात्मक पहल गरिने बताउनुभयो ।

प्रकाशित मिति: सोमबार, साउन १८, २०८३  १४:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update