- आन्दोलनरत पक्षले आन्दोलनका कार्यक्रम फिर्ता लिएपछि निषेधाज्ञा हटाइने ।
- सोमबार बिहान ५ बजेदेखि जनकपुरधाममा निषेधाज्ञा हट्ने निर्णय ।
- सुरक्षा अवस्था सामान्य बन्दै गएपछि जिल्ला सुरक्षा समितिको निर्णय ।
रे समाचार/जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा जारी निषेधाज्ञा सोमबार बिहान ५ बजेदेखि हटाइने भएको छ । आन्दोलनरत पक्षले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएपछि जिल्ला सुरक्षा समितिले निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालय धनुषाले आज सूचना जारी गर्दै स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम साउन १६ गते बिहान १० बजेदेखि लागू गरिएको निषेधाज्ञा साउन १८ गते सोमबार बिहान ५ बजेदेखि हटाइने जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलद्वारा जारी सूचनाअनुसार आन्दोलनरत पक्षले आन्दोलनका कार्यक्रम फिर्ता लिएको, सुरक्षा अवस्था सुधारोन्मुख रहेको तथा जनजीवन सामान्य बन्दै गएको निष्कर्षका आधारमा जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।
प्रशासनले निषेधाज्ञा हटाइए पनि जिल्लाको शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई सहयोग गर्न आग्रह गरेको छ ।
