RayNewsDaily
सुशासन र सामाजिक सद्भावका लागि अग्रजको आदर्श आत्मसात् गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
  • लोकतान्त्रिक मूल्य, नैतिकता र जनउत्तरदायित्व बलियो बनाउन आग्रह ।
  • तुल्सीलाल अमात्यको त्याग र जनसेवाको आदर्श प्रेरणादायी रहेको भनाइ ।
  • विविधताबीच एकता र सामाजिक सद्भाव कायम राख्न संयम अपनाउन आह्वान ।

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्य, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्श आत्मसात् गर्नुपर्ने बताउनुभएको छ ।

तुल्सीलाल अमात्यको २९औँ स्मृति दिवसका अवसरमा तुल्सीलाल स्मृति प्रतिष्ठानले आज ललितपुरको च्यासलमा आयोजना गरेको कार्यक्रममा उहाँले नेता अमात्यले आफ्नो सम्पूर्ण जीवन विचार, सिद्धान्त र जनताको सेवामा समर्पित गर्नुभएको उल्लेख गर्नुभयो ।

उहाँले अमात्यको त्याग, इमानदारी र जनसेवाको आदर्श वर्तमान तथा भावी पुस्ताका लागि प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गर्नुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले पछिल्ला दिनमा सुनसरीसहित पूर्वी तराईका केही जिल्लामा देखिएका तनाव र हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभयो ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषतायुक्त राष्ट्र भएकाले विविधताबीचको एकता, आपसी सम्मान, सहिष्णुता र सामाजिक सद्भाव जोगाउन सबैले संयमता अपनाउनुपर्ने उहाँको भनाइ थियो ।

उहाँले अफवाह, घृणा र विभाजनका प्रयासबाट टाढा रहँदै राष्ट्रिय एकता, सामाजिक सद्भाव र कानुनी शासन सुदृढ बनाउन सबै नेपालीलाई जिम्मेवार भूमिका निर्वाह गर्न आह्वान गर्नुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले आज प्राप्त लोकतान्त्रिक उपलब्धिका पछाडि तुल्सीलाल अमात्यजस्ता अग्रजहरूको लामो सङ्घर्ष, त्याग र समर्पण रहेको उल्लेख गर्दै उहाँलाई सम्झनु भनेको उहाँका आदर्श र मूल्यलाई व्यवहारमा उतार्नु पनि भएको बताउनुभयो ।

कार्यक्रममा प्रतिष्ठानका संस्थापक अध्यक्षसमेत रहनुभएका नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता माधवकुमार नेपाल र पूर्वअध्यक्ष केशवप्रसाद बडाललाई सम्मान गरिएको थियो । साथै हाजिरीजवाफ प्रतियोगितामा विजयीलाई पुरस्कृत गरिएको थियो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेपालले नेता अमात्यले प्रतिष्ठित र सहज जीवन बिताउने अवसर हुँदाहुँदै किसान, मजदुर तथा उत्पीडित समुदायको हक र अधिकारका लागि सङ्घर्षको कठिन बाटो रोज्नुभएको बताउनुभयो ।

उहाँले अमात्यले नेपाल कम्युनिष्ट पार्टीको स्थापना कालदेखि पार्टी निर्माण, किसान आन्दोलन विस्तार, लोकतान्त्रिक अधिकारको रक्षा तथा शोषण र सामन्ती उत्पीडनविरुद्ध पुर्‍याउनुभएको योगदानको सम्मान गर्दै उहाँका आदर्श र मूल्यलाई आत्मसात् गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस

प्रकाशित मिति: आइतबार, साउन १७, २०८३  १६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update