
रे समाचार/काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशनबाट निर्वाचित र १४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वबीच विवाद भइरहेका बेला दुवै पक्षलाई जोड्ने उद्देश्यले ‘देश र कांग्रेस जोड्ने अभियान’ले साउन २० गते काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने भएको छ ।
अभियानले आज आयोजित पत्रकार सम्मेलनमार्फत कांग्रेस एक हुनुपर्छ भन्ने पक्षका नेता-कार्यकर्ताको राष्ट्रिय भेला राजधानीमा आयोजना गर्न लागिएको जानकारी दिएको हो ।
राष्ट्रियसभा सदस्य तथा कांग्रेस नेता रञ्जित कर्णले पार्टी सभापति गगनकुमार थापा र शनिबार चुनदेवीमा आयोजित पत्रकार सम्मेलनबाट अभियानका संयोजक घोषणा हुनुभएका डा. शशाङ्क कोइरालाले पार्टीलाई एक बनाउन अग्रसर हुनुपर्ने बताउनुभयो ।
पूर्व केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेस कमजोर हुँदा लोकतन्त्र र राष्ट्रियता पनि कमजोर हुने भएकाले पार्टी एकताका लागि दबाब दिन राष्ट्रिय भेला आयोजना गर्न लागिएको बताउनुभयो । उहाँले पार्टी एकताको आवश्यकता महसुस गर्दै ‘देश र कांग्रेस जोड्ने अभियान’ शनिबारदेखि सुरु गरिएको जानकारी दिनुभयो ।
महरका अनुसार राष्ट्रिय भेलामा सहभागी हुन हालसम्म १ हजार ३५९ प्रतिनिधिले नाम दर्ता गराएका छन् ।
कार्यक्रममा तनहुँको भानु नगरपालिकाका प्रमुख आनन्द त्रिपाठीले कांग्रेसलाई एकताबद्ध बनाउँदै देश र कांग्रेस जोड्ने अभियानमा साथ दिन देशभरका जनप्रतिनिधिलाई आग्रह गर्नुभयो ।
