RayNewsDaily
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ वटा पुल सञ्चालनमा
  • सिरहादेखि सर्लाहीसम्म ९० प्रतिशतभन्दा बढी सडक कालोपत्र सम्पन्न ।
  • २४ पुल निर्माण सम्पन्न, १९ पुल अन्तिम चरणमा ।
  • चालु आर्थिक वर्षमै निर्माण सम्पन्न गर्ने लक्ष्य ।

जनकपुरधाम । मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअन्तर्गत सिरहादेखि सर्लाहीसम्मको सडक निर्माण अन्तिम चरणमा पुगेको छ । यस खण्डमा २४ वटा पुल निर्माण सम्पन्न भएका छन् भने ९० प्रतिशतभन्दा बढी सडक कालोपत्र भइसकेको छ ।

हुलाकी राजमार्ग निर्देशनालयका अनुसार सिरहादेखि सर्लाहीसम्मको ४०६ दशमलव ४३ किलोमिटर सडकमध्ये ३४७ दशमलव ६३ किलोमिटरमा कालोपत्र सम्पन्न भएको छ । धनुषामा तीन, महोत्तरीमा तीन, सर्लाहीमा सात र सिरहामा तीन गरी १९ वटा पुल निर्माण अन्तिम चरणमा पुगेका छन् ।

कालोपत्र गर्न बाँकी ५८ दशमलव ८ किलोमिटर सडकमध्ये १२ दशमलव ८ किलोमिटरको ठेक्का प्रक्रिया सुरु भएको निर्देशनालयले जनाएको छ ।

कार्यालय प्रमुख कृष्णकुमार महतोका अनुसार चालु आर्थिक वर्षमै परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कार्य तीव्र गतिमा भइरहेको छ ।

हालसम्म सिरहामा २९ दशमलव ९८ किलोमिटर, महोत्तरीमा ९१ दशमलव ५६ किलोमिटर र सर्लाहीमा १५१ दशमलव ५१ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ । निर्माण सम्पन्न भएपछि पूर्व-पश्चिम हुलाकी राजमार्गको कुल लम्बाइ एक हजार ७९२ किलोमिटर पुग्नेछ । रासस

प्रकाशित मिति: आइतबार, साउन १७, २०८३  १२:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update