- विराटनगरमा सर्वपक्षीय सद्भाव र्याली आयोजना ।
- शान्ति, धार्मिक सहिष्णुता र सामाजिक एकताको सन्देश ।
- विभिन्न समुदाय, राजनीतिक दल र नागरिक समाजको सहभागिता ।
रमेश हतुवाली/विराटनगर । सामाजिक सद्भाव कायम गर्ने उद्धेश्यले कोशी प्रदेशको राजधानी विराटनगरमा आज सद्भाव र्याली निकालिएको छ ।सुनसरीको देवानगञ्ज ३ कप्तानगञ्जमा यहि साउन १० गते राती भएको घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै शान्ति र सद्भाव कायम गर्न जिल्ला प्रशासन कार्यालय मोरङको अगुवाईमा सो सद्भाव र्याली निकालिएको हो ।
सुनसरीको देवानगञ्ज, इनरुवा, सप्तरीको राजविराज, सिरहाको गोलबजार र धनुषाको जनकपुरधाम लगायका क्षेत्रमा विद्यमान अशान्त वातावरणलाई शान्तीमा रुपान्तरण गर्ने उद्धेश्यले सो र्याली निकालिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।

विराटनगरमा सद्भाव र्याली/फोटो: रमेश हतुवाली
स्थानीय महेन्द्र चोकबाट सुरु भएको उक्त र्याली टाफिक चोक, हनुमान मन्दिर, अतिथी सदन, गोल्छा चोक हुँदै नगरको परिक्रमा पछि जिल्ला प्रशासन कार्यालय मोरङमा पुगेर समापन भएको थियो । र्यालीमा नागरिक समाज, हिन्दु तथा मुस्लिम समुदायका धार्मिक अगुवा, स्थानीय व्यवसायी, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, शिक्षक, कानून व्यवसायी, प्रतिनिधी सभाका सदस्य, विद्यार्थी, मजदुरलगायतको सहभागिता रहेको थियो ।

विराटनगरमा सद्भाव र्याली/फोटो: रमेश हतुवाली
रे टेलिभिजनको पूर्वी नेपाल ब्यूरोका अनुसार आज बिहानैदेखि विराटनगरमा युवाहरूले प्रदर्शन जारी राखेका थिए । युवाहरूले नगरका विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरेपछि विराटनगर बजार बन्द भएको थियो। त्यसैगरी मोरङ जिल्लाको दक्षिणी क्षेत्रका बजारहरू पनि बन्द भएका थिए। विराटनगर बजारमा सद्भाव र्याली निकालिएको समयमा विराटगर पूर्वको कटहरी र नयाँ बजार क्षेत्रमा केही युवाहरुले सवारी साधनको आवत जावतमा अवरोध गरेका थिए । युवाहरूको प्रदर्शनलाई मध्यनगजर गर्दै विराटनगरमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
सुनसरीको कप्तानगञ्जमा दुई समूहबीच भएको विवादमा शसस्त्र प्रहरीले गोली चलाउँदा स्थानीय ओम प्रकाश मेहताको सोही राती र घाईते भएका जय प्रकाश मेहताको उपचारका क्रममा बिहीबार मृत्यु भएको थियो । त्यसैगरी हिजो बिहीबार सिरहाको गोलबजारमा भएको उग्र प्रर्दशनलाई नियन्त्रणमा लिने क्रममा भएको गोली प्रहारबाट स्थानीय गणेश यादवको मृत्यु भएको थियो ।
