- आफ्ना क्षेत्रमा संवाद र सद्भाव अभियानलाई निरन्तरता दिने प्रतिबद्धता ।
- अफवाह, भ्रामक सूचना र सामाजिक सञ्जालमाथि कडा निगरानीको सुझाव ।
- सीमा सुरक्षा, मदिरा बिक्री नियन्त्रण र दीर्घकालीन समाधानमा जोड ।
रे समाचार/काठमाडौँ । तराई-मधेसका विभिन्न निर्वाचन क्षेत्रबाट निर्वाचित सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले आफ्ना क्षेत्रमा थप हिंसा फैलिन नदिन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् ।
प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएको छलफलमा सांसदहरूले स्थानीय सरोकारवालासँग निरन्तर संवाद गर्ने, सामाजिक सञ्जालमा फैलाइने अफवाह र सामाजिक सद्भाव बिथोल्ने गतिविधिमाथि निगरानी बढाउने तथा हिंसा रोक्न समन्वयात्मक भूमिका निर्वाह गर्ने बताएका हुन् ।
सांसदहरूले सरकारलाई पनि सीमा क्षेत्रमा निगरानी कडा बनाउन, मदिरा बिक्री-वितरण नियन्त्रण गर्न, अवस्था सामान्य बन्दै गएपछि क्रमिक रूपमा कर्फ्यु हटाउन तथा युवामाझ सामाजिक सद्भावसम्बन्धी जनचेतना अभियान सञ्चालन गर्न सुझाव दिएका छन् ।
धनुषा-३ का सांसद मनिष झाले भ्रामक सूचना फैलाउने व्यक्तिलाई कानुनी दायरामा ल्याउनुपर्ने र पत्रकारको नाम दुरुपयोग गरेर गलत सूचना फैलाउने गतिविधि रोक्नुपर्ने बताए । उनले १२ देखि २२ वर्ष उमेर समूहका युवाको संलग्नता बढी देखिएकाले सोही समूहलाई लक्षित गरेर सद्भाव र सचेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने सुझाव दिए ।
कपिलवस्तु–२ का सांसद विक्रम थापाले सामाजिक सञ्जालमा फैलिने अफवाहले तनाव बढाउने भएकाले त्यसको प्रभावकारी निगरानी आवश्यक रहेको बताए । उनले सुरक्षा तथा गुप्तचर संयन्त्रलाई थप प्रभावकारी बनाउन, घटनामा प्रयोग भएका हतियारबारे अनुसन्धान गर्न र पूर्वी तराईको तनाव पश्चिमतर्फ फैलिन नदिन समयमै सतर्कता अपनाउन आग्रह गरे ।
रौतहटका सांसद गजाला शमिम मिकरानीले दीर्घकालीन समाधानका लागि विद्यालय र कलेज तहबाटै सामाजिक सद्भावसम्बन्धी कार्यक्रम सञ्चालन गर्नुपर्ने तथा अल्पसङ्ख्यक समुदायका सरोकारमा विशेष ध्यान दिनुपर्ने बताए ।
बारा-४ का सांसद रहबर अन्सारीले घटनाको मूल कारण पहिचान गरी दीर्घकालीन समाधान खोज्नुपर्नेमा जोड दिए । उनले सामाजिक सञ्जालमार्फत फैलाइने भ्रम नियन्त्रण गर्न र संवेदनशील क्षेत्रमा समयमै सतर्कता अपनाउन सुझाव दिए ।
कपिलवस्तु-१ का सांसद मोहनलाल आचार्यले युवाको सहभागितामा सद्भाव अभियान सञ्चालन गर्नुपर्ने तथा नागरिक समाज, धार्मिक अगुवा, राजनीतिक दल, विद्यार्थी, जनप्रतिनिधि र युवाबीच संवाद बढाउनुपर्ने धारणा राखे ।
धनुषा–४ का सांसद राजकिशोर महतोले तनाव नियन्त्रणका लागि स्थानीयस्तरका विश्वासिला व्यक्तिलाई परिचालन गर्नुपर्ने बताए । उनले संवेदनशील अवस्थामा मदिरा बिक्रीमा रोक, आवतजावतमा निगरानी र आवश्यकताअनुसार परिचयपत्र जाँचको व्यवस्था गर्नुपर्ने सुझाव दिए ।
बारा-२ का सांसद चन्दनकुमार सिंह र सर्लाही-१ की सांसद नितिमा कार्की (भण्डारी)ले धार्मिक तथा सांस्कृतिक कार्यक्रममा प्रयोग हुने डिजेमाथि नियमन आवश्यक रहेको बताए । उनीहरूले स्थानीय जनप्रतिनिधि समुदायसँग निरन्तर सम्पर्कमा रहनुपर्नेमा पनि जोड दिए ।
छलफलमा सहभागी सांसदहरूले पछिल्लो तनावलाई सुरक्षा चुनौतीका रूपमा मात्र नभई सामाजिक, राजनीतिक र सूचना प्रवाहसँग जोडिएको विषयका रूपमा हेरी समन्वित ढंगले सम्बोधन गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।
