RayNewsDaily
‘ड्रागन फ्रुट’खेतीबाट १२ लाख आम्दानी   

इनरुवा (सुनसरी) । जिल्लाको हरिनगर गाउँपालिका-३ गौतमपुरका किसान रामेश्वर मेहताले पाँच कट्ठा जग्गामा ड्रागन फ्रुटखेती गर्नुभएको छ । उहाँले करिब रु आठ लाख लागतमा खेती सुरु गर्नुभएको हो ।    
    
मेहताका अनुसार रु एक लाख ५६ हजार बिरुवामा मात्रै खर्च भएको छ । बाँकी खर्च पिलर, टायर/होल्डर, कम्पोष्ट मल, सुडामोनस, खाद्य, रोपाइँ तथा तीन पटकसम्मको सिँचाइ, मजदुरको ज्यालालगायतमा खर्च भएको मेहताले जानकारी दिनुभयो । “खेती सुरु गर्दा आम्दानीभन्दा खर्च बढी थियो । अहिले आम्दानी हुन थालेपछि उत्साहित भएको छु”, उहाँले भन्नुभयो ।    
    
 परम्परागत खेती छाडेर व्यावसायिक रूपमा ड्रागनखेती गरेकामा यस वर्ष पाँच कट्ठामा रोपिएका बिरुवाबाट रु १२ लाखभन्दा बढी आम्दनी हुने लक्ष्य लिएको मेहताले बताउनुभयो । सुरुआती लगानी र मेहनतपश्चात् अहिले उहाँले उत्साहजनक प्रतिफल प्राप्त गरिरहनुभएको छ ।    
    
 प्रतिकट्ठा करिब एक हजार ४०० किलो ड्रागन फ्रुट उत्पादन हुने लक्ष्य रहेको मेहताले बताउनुभयो । अन्नबालीमा मात्र सीमित रहने यस क्षेत्रका कृषकका लागि रामेश्वर मेहताको यो व्यावसायिक खेती एउटा अनुकरणीय र प्रेरक उदाहरण बनेको छ ।    
     
 कम मेहनत र राम्रो बजार भाउ पाउने भएपछि स्थानीयस्तरमा यसको खेतीतर्फ अन्य कृषकको आकर्षण बढ्न थालेको छ । यस खेतीबाट प्रशस्त आम्दनी आउन थालेपछि खेती विस्तार गर्ने तयारी थालेको किसान मेहताले बताउनुभयो ।    
    
 जिल्लामा ५० हेक्टर क्षेत्रफलमा ड्रागन फ्रुटखेती हुँदै आएको कृषि ज्ञान केन्द्र इनरुवाका प्रमुख नीलकमल सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा १२ दशमलव पाँच मेट्रिकटन प्रतिहेक्टर ड्रागन फ्रुट उत्पादन हँुदै आएको छ । रासस   
 

प्रकाशित मिति: आइतबार, असार ७, २०८३  ०७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update