RayNewsDaily
एउटा बोटमा दुई थरी जातका आँप

महोत्तरी । तराई-मधेसमा अहिले आँप उत्पादनका हिसाबले मध्य मौसम छ । हरेकजसो किसानका खेतबारी र बगैँचामा विभिन्न जातका आँप लटरम्म फलेका छन् ।     
     
यहाँ उत्पादन हुनेमध्ये मालदह र दशहरी जातका आँप अन्यको तुलनामा स्वादिष्ट हुने भएकाले सबैको रोजाइमा पर्दै आएको पाइन्छ ।     
     
यसैबीच, महोत्तरीको भङ्गाहा-४ रामनगरका किसान रामभगत महतोको आँगनमा भने एउटै बोटमा दुई स्वादिष्ट जातका आँप फलेका छन् । उहाँको घरआँगनको एउटै बोटमा ती दुवै जातका आँप फलेका छन् ।     
     
महतोले मालदहको बिरुवा भनी दुई वर्षअघि रोप्नुभएको बोटमा पहिलोपल्ट यसपालि फल लागेको हो । त्यस आँपको बोटका मुख्य दुई हाँगामा फरक-फरक जातका आँप फलेका हुन् ।     
     
किसान महतोले भन्नुभयो, “हेर्नुस त एकापट्टि मालदह र यो अर्काे हाँगामा दशहरी फल्यो, दुवै स्वादिष्ट जातका आँप गनिन्छन् म खुसी छु ।” त्यो बोटमा मालदहका दाना ठूला रहेका र दशहरीका फल औसत रूपमा साना छन् ।     
     
आँपको बिरुवामा कलमी लगाउँदा फेदतिर दशहरी र माथिल्लो भाग मलदहको हाँगो फाटेर गएको हुनसक्ने बागवानी विज्ञका रूपमा लामो सरकारी सेवाबाट अवकाश लिनुभएका स्थानीय ताराबहादुर भुजेल बताउनुहुन्छ । तथापि, एउटै बोटमा दुई जातका आँप फल्नु दुर्लभ घटना र अपवादमा भेटिने गरेको उहाँको भनाइ छ । रासस

प्रकाशित मिति: बुधबार, असार ३, २०८३  १४:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update